जेष्ठ ८ । हालै ओटीटी प्लेटफर्ममा रिलिज गरेको वेब सिरिजका कारण विवादमा तानिएकी अभिनेत्री अनुष्का शर्मालाई ‘लिगल नोटिस’ पठाइएको छ।
सिरिजमा बोलिएको एक संवादका कारण उनलाई उक्त नोटिस पठाइएको हो। उक्त संवादमा नेपाली समुदायका महिलाहरूलाई अपमान गरिएको भन्दै वकिल विरेन श्री गुरुङले उनलाई लिगल नोटिस पठाएका हुन्।
वकिल विरेन गिल्ड र प्रणय राय एन्ड असोसियट्सको चेम्बरका सदस्य हुन्। विरेनले भनेका छन्, “एक भिडिओ क्लिपमा महिला प्रहरी अफिसरले नेपाली पात्रलाई जातीय गाली दिएका छन्। यदि नेपाली शब्द मात्रै बोलिएको भए फरक पर्दैन थियो। तर त्यसपछि जस्तो शब्द प्रयोग गरिएको छ त्यो स्वीकार्य हुँदैन। अनुष्का यस शोकी निर्मात्री भएकाले उनलाई यो नोटिस पठाइएको हो।”
भारतीय सञ्चारमाध्यमहरूका अनुसार गोर्खा कम्युनिटीले पनि यो संवादमा आपत्ति जनाउँदै संवाद हटाउन माग गरेका छन्। उनीहरूले १८ मे मा अनलाइन पिटिसनमार्फत उक्त संवादबारे आपत्ति जनाएका हुन्।
अनुष्काको यस संवादबारे केही नेपाली अभिनेत्रीले पनि सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका थिए। यद्यपि अभिनेत्री अनुष्काले भने यस विषयमा केही बोलेकी छैनन्। (नवभारत टाइम्स)


























