काठमाडौं, जेष्ठ ७ । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ। भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले बुधबार एक पत्रकार सम्मेलन गर्दै नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन्।
अब यो नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र पनि समेटिएको छ।
सरकारले जारी गरेसँगै अब यो नयाँ नक्सा प्रचलनमा आउनेछ।
नक्सा सार्वजनिक कार्यक्रममा यसअघिको नक्सामा नाबी, कुटी तथा गुन्जीलगायतका नेपालका भूमि छुटेको भन्दै त्यसलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरेको मन्त्री अर्यालले कार्यक्रममा बताएकी छिन्। उनले नेपालको नयाँ नक्साबारे भारतबाट पनि सकारात्मक प्रतिक्रिया आउने विश्वास सरकारले लिएको पनि बताएकी छिन्।

कार्यक्रममा उनले अब नक्सा प्रयोग गर्ने ठाउँमा यही नयाँ नक्सालाई प्रयोग गर्न पनि अनुरोध गरेकी छिन्।
भारतले नेपाली भूमि अतिक्रमण गरेर मानसरोबर जाने सडक बनाएपछि नेपालको मन्त्रिपरिषद् बैठकले सोमबार यो नयाँ नक्सा पारित गरेको थियो।


























