काठमाण्डौं, जेष्ठ, ३ । धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया एक सुत्केरीको ज्यान जानुको कारण अझै खुलिसकेको छैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित बिफ्रिङमा सुत्केरी महिलाको ज्यान जानुको कारण खुल्न बाँकी रहेको जानकारी गराएको हो।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सुत्केरी महिलाको गएको २४ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्राकृतिक रुपमा प्रसूति भएको र २५ गते अस्पतालबाट डिस्चार्ज गरेको जानकारी दिए। उनले डिस्चार्जपछि सुत्केरी महिलालाई घर लगेपछि ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको खुल्न आएको बताए।
उनले भने, ‘स्वास्थ्यमा समस्या भएपछि सुत्केरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार गराएको तर अवस्था गम्भीर भएपछि काभ्रेको धुलिखेल अस्पताल ल्याउँदै गर्दा ज्यान गएको पाइएको छ।’
सुत्केरीको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेकोले ज्यान जानुको कारण नखुलेको र रिपोर्ट आएपछि औपचारिक जानकारी गराइने पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए।


























