काठमाडाैं, जेठ ३ । धुलिखेल अस्पतालमा भएकाे महिला मृत्युकाे कारण काेराेना भाइरसकाे संक्रमण नै हाे भन्ने पुष्टि भएकाे छ। सिन्धुपाल्चाेक जिल्ला बाह्रविसे–९ राम्चेको २९ वर्षिया सुत्केरीकाे काेराेनाकै कारण मृत्यु भएकाे शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे हाे।
मन्त्रालयका अनुसार ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी पश्चात घर गएकी ती महिलालाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि धुलिखेल अस्पताल ल्याइएकाे थिायाे। तर, चिकित्सकले अस्पताल आइपुग्नु अगाडि नै उनको मृत्यु भएको बताएका छन्।
मृत्यु भइसकेपछि गरेकाे स्वाब परीक्षणमा काेराेना संक्रमण देखिएकाे थियाे। तर मृत्यु हुनुकाे कारण काेराेना हाे या अन्य भनेर अनुसन्धान गर्दा काेराेनाकै कारण मृत्यु भएकाे खुलेकाे मन्त्रालयले विज्ञप्तीमार्फत जानकारी गराएकाे हाे। हालसम्म नेपालमा काेराेनाका कारण मृत्यु भएकाे याे नै पहिलाे घटना हाे।
मन्त्रालयले जनाएअनुसार शनिबार साँझसम्ममा नेपालमा काेराेना संक्रमितकाे संख्या २८१ पुगेकाे छ। देशभरका २६ जिल्लामा काेराेनाकाे संक्रमण भेटिएकाे छ। संक्रमित सबैकाे स्वास्थ्यावस्था सामान्य रहेकाे मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए।



























