बैशाख ३१ । अमेरिकामा कोभिड–१९ बाट दैनिक मृत्यु हुनेको संख्या पुनः बढेको छ। अमेरिकामा मंगलबार एकै दिन झण्डै दुई हजारजनाको ज्यान गएको छ।
जोन्स हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस स्रोत केन्द्रको रियल टाइम ट्याली अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा १८ सय ९४ जनाको ज्यान गएको देखिएको छ।
आइतबार र सोमबार ज्यान गुमाउनेको संख्या एक हजार आसपास थियो। लकडाउन खुकुलो पार्न थालिएसँगै अमेरिकामा फेरि मृत्यु हुनेको संख्या बढेको हो।
हालसम्म कोभिड–१९ बाट अमेरिकामा ८२ हजार ३५६ जना भन्दा बढीको ज्यान गएको छ। संक्रमितको संख्या पनि अमेरिकामा १३ लाख ६९ हजार भन्दा बढी रहेको छ।
विश्वमा हालसम्म संक्रमितको संख्या ४२ लाख ६१ हजार भन्दा बढी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ। हालसम्म विश्वभर दुई लाख ९१ हजार ९ सय भन्दा बढीको ज्यान गएको छ।
संक्रमितको संख्या अमेरिकापछि रुसमा धेरै भएको छ। रुसमा हालसम्म दुई लाख ३२ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ। त्यहाँ २१ सय भन्दा बढीको ज्यान गएको छ।


























