बैशाख ३० । ईटालीका लिजेण्ड फाबियो काराभारोले स्पेनिस क्लब रियल मड्रिडलाई केलियन एम्बाप्पकोे आवश्यकता रहेको बताएका छन्।
एम्बाप्पेले क्रिस्टियानो रोनाल्डोले पदचाप पछ्याउन सक्ने भन्दै उनले रियललाई फ्रान्सेली स्टारको आवश्यकता रहेको बताएका हुन्।
उनले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टारलाई अनुबन्ध गर्न गाह्रो हुने समेत बताएका छन्।
२१ बर्षका फरवार्ड लगातार रियल मड्रिडसंग जोडिएका छन्। पीएसजीमा एम्बाप्पेले पछिल्ला तीन सिजन बिताएका थिए।
रियललाई रोनाल्डोको विकल्प भेट्न गाह्रो भईरहेको छ। उनले स्पेनिस महारथी क्लब सन् २०१८ मा छाड्दै ईटालियन क्लब युभेन्ट्स लागेका थिए।
काराभारोले रियल मड्रिडबाट दुई पटक स्पेनिस लिग जितेका थिए। उनले रोनाल्डोले जस्तै नतिजा दिने खेलाडी रियलका लागि एम्बाप्पेनै रहेको बताए।
‘रियललाई एम्बाप्पे जस्ता खेलाडी आवश्यक छ। जसले रोनाल्डोको पदचाप पछ्याउन सक्छ।’ उनले एक अन्तरवार्तामा भनेका छन्।
‘रियलले उनलाई अनुबन्ध गर्न खोज्नु सामान्य हो। पीएसजीका मालिकलाई पैसा चाहिएको छैन। उनीहरुको उद्धेश्य च्याम्पियन्स लिग जित्नु रहेको छ।’ उनले भने।
‘मलाई लाग्छ, रियललाई एम्बाप्पे पाउन मुस्किल छ। पीएसजीका अध्यक्ष कुनै हालतमा जित्न चाहन्छन्। मैले राम्रोसंग उनलाई चिनेको छु। उनीहरु एम्बाप्पेलाई राख्न हरसम्भव प्रयास गर्नेछन्।’ उनले थपे।
आर्सनलका पूर्व प्रशिक्षक उनाई ईम्री समेत पीएसजी स्टार एम्बाप्पेले रियल मड्रिड आउन फ्रान्स छाड्नु पर्ने धारणा राख्छन्।
उनका अनुसार विश्व विजेता टिमका सदस्य एम्बाप्पेसंग मड्रिडमा शानदार समय बनाउने प्रतिभा रहेको छ।
‘पक्कैपनि उनले मड्रिडमा नयाँ समय स्थापित गर्न सक्छन्।’ आर्सनलका पूर्व प्रशिक्षकले भनेका छन्।
‘निश्चित रुपमा पीएसजीले सबै चिज दिनेछ। सायद केही गर्ने छैन। तर रियल मड्रिडले सक्नेछ।’ उनले भने।
एम्बाप्पेले तीन पटक लिग वानको उपाधि जितेका छन्। उनले यस सिजनमात्र सबै प्रतियोगिताका ३३ खेलमा ३० गोल गरेका छन्। कोरोना भाईरसको महामारीका कारण लिग वानको यस सिजनको लिग रद्ध भईसकेको छ। एजेन्सी


























