काठमाडौं, बैशाख २९ । राष्ट्रियसभा सदस्य तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कालापानीबाट भारतीय फौज हटाउन नेपाल सफल हुने विश्वास व्यक्त गरेका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले यस सम्बन्धमा सरकारले आफ्नो अडान र दृष्टिकोण प्रस्तुत गरेको भन्दै प्रशंसा व्यक्त गरे।
“सरकारको अडान सही र सकारात्मक छ। त्यसको स्वागत गर्न पनि चाहन्छु। राष्ट्रिय पार्टी सबैले विरोध गरेका छन्। म यसको पनि स्वागत गर्न चाहन्छु। हामी देशको सार्वभौमिकताको रक्षा गर्न हाम्रो भूमि फिर्ता गर्न र हाम्रो भूमिमा रहेका विदेशी सेना फिर्ता पठाउन हामी सफल हुने छौं,” उनले बैठकमा भने।
उनले यस विषयमा राष्ट्रियसभामा विशेष समय छुट्टयाएर छलफल हुनुपर्ने पनि धारणा राखे। “भारतले महाकालीवारिको भूभाग लामो समयदेखि अतिक्रमण गर्दै आएको छ। हामीले विरोध गर्दै देशको एकइन्च भूमि पनि छोड्दैनौं भन्दै अडान राख्दै आएको छौं र हामी सिङ्गो देश त्यसमा प्रतिबद्ध पनि छौं।
हामीले यो प्रक्रिया अगाडि बढाइरहेका बेलामा आफैं विवादित भनेर स्वीकार गरेको भूमिमा भर्खरै नेपालले लिपुलेकसम्म बाटो बनाउने र उद्घाटन गर्ने काम जो भारत सरकारले गरेको छ त्यसका प्रति आपत्ति प्रकट गर्दै चाहन्छु। विरोध गर्न चाहन्छौं। तत्काल त्यसप्रकारका कामहरू बन्द गरोस् भन्न चाहन्छु,” उनले बैठकमा भने।


























