काठमाडौ, बैशाख २७ । जनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका एक करोड ७५ लाख थान पुस्तक छपाइको काम सकेको जनाएको छ।
कक्षा १ देखि १० सम्मका यी पुस्तक ढुवानीको व्यवस्था भएमा जेठ १५ भित्रै विद्यार्थीको हातमा पुग्ने बताइएको छ। केन्द्रले बन्दाबन्दीको यस अवधिमा पनि पुस्तक छपाइको काममा निरन्तरता दिएको छ।
सुरुमा एक साता छपाइ कार्य बन्द गरिए पनि त्यसपछि सुचारु गरिएको थियो। हाल केन्द्रका दुईवटा छापाखानामा ३० जति कर्मचारी दैनिक परिचालन गरिएको छ। छपाइ भएका पुस्तक वितरणको कामसमेत गरिएको जनाइएको छ।
प्रत्येक वर्ष पाठ्यपुस्तक समयमा विद्यार्थीलाई उपलब्ध नहुँदा उनीहरूको अध्ययनमा समस्या आउनेगरेको छ। यस वर्षका लागि अब २० लाख थान पुस्तक छपाइ गर्ने केन्द्रको योजना छ।
अबको तीन सातामा पुस्तक छपाइको सबै कार्य टुङ्गोमा पुर्याउने केन्द्रको योजना छ। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण जारी बन्दाबन्दी (लकडाउन) को अवधिमा ढुवानीको सुविधा हुनसके आगामी जेठ १५ सम्म सबै विद्यार्थीको हातमा नयाँ पुस्तक पुर्याइने भएको छ।
बन्दाबन्दीको समयमा औषधि र तरकारी जस्तै पुस्तकमा पनि ढुवानीको सुविधा दिइए जेठ आधाआधीमा सबै विद्यालयमा पुस्तक पुर्याउने योजना जनक शिक्षा सामग्री केन्द्रले बनाएको छ।
केन्द्रका महाप्रबन्धक महेशप्रसाद तिमिल्सिनाले विद्यालय मार्फत जेठ १५ सम्म विद्यार्थीको हातमा पुस्तक पुर्याउने गरी काम भइरहेको जानकारी दिएका छन्। ढुवानीमा परेको समस्याका बारेमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई समेत जानकारी गराइएको छ।
मन्त्रीले सरकारका तर्फबाट ढुवानी सहज बनाउने आश्वासन दिएको जनाइएको छ। बन्दाबन्दी खुलेको केही दिनपछि विद्यालय सञ्चालनमा आएको अवस्थामा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने कुरामा कुनै समस्या नहुने उनको भनाइ छ।


























