काठमाडौं, बैशाख २६ । नेपालगञ्जमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। भेरी अञ्चल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा एक जनामा भाइरसको संक्रमण पुष्टि भएको हो।
१६ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या १०२ पुगेको छ। यसमध्ये ७४ जना पुरुष र २८ जना महिला रहेका छन्।
हालसम्म प्रदेश १ मा ३१ जना, प्रदेश दुईमा ३०, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन्। कर्णाली प्रदेशमा हालसम्म कोरोनाभाइरस संक्रमित फेला परेका छैनन्।
यता, कोशी अस्पतालबाट आज ८ जना डिस्चार्ज भएका छन्। जसमध्ये ५ जना १७ औँ दिनमा र ३ जना १६ औँ दिनमा डिस्चार्ज भएका हुन्। योसँगै निको हुनेको संख्या ३० जना पुगेको छ।
हालसम्म पीसीआर प्रविधिबाट १५ हजार ४९२ तथा आरडीटी प्रविधिबाट ५४ हजार ५३१ जनाको परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा १ हजार ८५९ वटा परीक्षण भएका छन्। हालसम्म १५ हजार ६२४ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेसनमा १३५ जना रहेका छन्।


























