काठमाडौं, बैशाख २५ । सरकारले हालसम्म साढे ६८ हजारको कोरोना परीक्षण गरिएको जनाएको छ। हालसम्म र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ५४ हजार ९३ र पिसिआर विधिमार्फत १४ हजार ५ सय ९ गरी कुल परीक्षणको संख्या ६८ हजार ६ सय २ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा मात्र १ हजार ४ सय ५१ वटा परीक्षण गरिएको जानकारी दिए।
उनका अनुसार देशभरका सातै प्रदेशमा आरडिटी विधिमार्फत परीक्षण जारी रहेको छ। आजको अपडेटअनुसार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १४ हजार ४ सय ७२ वटा परीक्षण गरिएको छ। प्रादेशिक विवरणअुनसार, प्रदेश नम्बर १ मा ६ हजार ५ सय ५९, प्रदेश नम्बर २ मा ५ हजार ३ सय ४८, बागमती प्रदेशमा ९ हजार ४४, गण्डकी प्रदेशमा ६ हजार ३ सय ४९, प्रदेश नम्बर ५ मा ५ हजार ७ सय १३ र कर्णाली प्रदेशमा ६ हजार ६ सय ८ वटा परीक्षण भएका छन्।
त्यस्तै, क्वारेन्टाइनमा बस्नेहरूको संख्या भने १७ हजार ३ सय ७२ जना रहेको छ। क्वारेन्टाइनमा सबैभन्दा थोरै बागमती प्रदेशमा २ सय ६१ जना रहेका छन्। बागमतीपछि गण्डकी प्रदेशमा ५ सय २८ जना रहेका छन्।
त्यसैगरी, प्रदेश नम्बर १ मा १ हजार ९ सय १५ जना, प्रदेश नम्बर २ मा १ हजार २ सय ९० जना, प्रदेश नम्बर ५ मा ६ हजार ८ सय १२ जना, कर्णाली प्रदेशमा ३ हजार ८९ जना र सुदुरपश्चिम प्रदेशमा ३ हजार ४ सय ७७ जना छन्।
मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता देवकोटाले क्वारेन्टाइनमा रहेकाहरूलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन र सही सूचनाका लागि तीनै तहका सरकारको समन्वयमा रहन आग्रहसमेत गरेका छन्।
डा.देवकोटाका अनुसार संक्रमित तथा सम्भावित संक्रमित कुल १ सय ३३ जना आइसोलेशनमा रहेका छन्। तीमध्ये काठमाडौंमा ३ जना र काठमाडौं उपत्यकाबाहिर १ सय ३० जना रहेका छन्।


























