चितवन, बैशाख २४ । गैँडाकोट नगरपालिकाभित्र जमिन बाँझो राख्न नपाइने भएको छ । बाँझो जमिनमा आफूले खेती नगरेमा खेती गर्न चाहनेका लागि सो जमिन नगरपालिकामार्फत मल, बीउसहित उपलब्ध गराइने भएको छ।
नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जमिन हुनेले बाँझो राख्ने र नहुनेले खेती गर्न नपाउने भएपछि नयाँ निर्णय गर्न लागिएको जानकारी दिए। उनले भने, “हामी जग्गाधनीलाई सार्वजनिक सूचना जारी गरेर जानकारी गराउँछौँ। खेती नगरेमा स्थानीयवासीलाई सामूहिक खेती गर्न उत्प्रेरित गर्छौँ।” वडाध्यक्षहरुमार्फत बाँझो जमिनको तथ्याङ्क लिइने भन्दै उनले छिट्टै कार्यपालिकाको बैठक बसेर निर्णय गरी व्यवस्थापनका बारेमा योजना तयार गरिने जानकारी दिए।
नगरपालिकाले आफ्नो क्षेत्रलाई कृषिको नमूना क्षेत्र बनाउन सिँचाइका लागि बोरिङ खन्ने काम गरिरहेको छ। पौडेलले सिँचाइ, बीउ, मल र प्राविधिक सहयोग गरेर बाँझो जग्गा हराभरा बनाइ उत्पादन बढाउने आफ्नो लक्ष्य रहेको बताए। जुन ठाउँमा जे फल्छ, त्यसैलाई प्राथमिकता दिइने उनको भनाइ छ। नगरपालिकाले कृषि फार्म, पशुपालनजस्ता कार्यमा अनुदान दिँदै आएको छ। नेपालकै नमूना नगर बनाउन बाँझो जमिन राखेर सम्भव नहुने नगरप्रमुख पौडेलको भनाइ छ। उनका अनुसार देशभरमै सबैभन्दा बढी दूध उत्पादन हुने नगर गैँडाकोट हो।
गैँडाकोट नगरपालिका–४ ले वडाभित्र रहेका खेतीयोग्य जमिन बाँझो नराख्ने अभियान थालनी गरेको छ। गैँडाकोट वडा नं ४ को खानेपानीट्याङ्की पछाडि जयश्री खोला किनारसँगै जोडिएको करिब तीन बिघा प्लटिङमा गैँडाकोट नगरपालिका वडा नं ४ ले ट्र्याक्टर लगाएको हो। घडेरीका लागि व्यापारीले व्यवस्थित बाटो, बत्तीसहित बिक्रीका लागि टुक्रा गराएर राखेको जमिनमा गैँडाकोट नगरपालिका–४ ले अन्न फलाउने उद्देश्यसहित ट्र्याक्टर लगाएको जनाएको छ। वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले वडाभित्र रहेका खाली जमिनदेखि प्लटिङ जो खेतीयोग्य छन्, सबै जोत्ने र कृषि उत्पादनमा प्रयोग गर्ने गरी अभियानको थालनी गरिएको बताए। अन्य वडाले पनि बाँझो जमिनको तथ्याङ्क आन्तरिकरूपमा लिने काम गरिरहेको जनाएका छन्। गैँडाकोट नगरपालिकामा १८ वडा रहेका छन्। हाल नगरपालिकाको जनसङ्ख्या ६५ हजार रहेको छ। रासस


























