बझाङ, बैशाख २४ । मौसममा आएको खराबीका कारण किसानलाई गहुँबाली भित्र्याउन समस्या भएको छ। प्रायःजसो केही सातादेखि लगातार पानी परिरहेकाले जिल्लाका अधिकांश कृषकलाई पाकेको अन्नबाली भित्र्याउन समस्या भएको हो।
उब्जनीका हिसाबले राम्रो मानिने जयपृथ्वी नगरपालीकाको देवल, भोपुर, रुइनाबगर, साइलाबगर, गोलाइ, पडेस, सुवेडा, खप्तड, थलारा, दुर्गाथली र केदास्यँुलगायतका खेत जिउलाहरुमा अहिले पाकेको गहुँ वर्षाले बिग्रँदै गएको छ।
एक हप्तादेखि लगातार पानी पर्ने र बादल लाग्ने गरेकाले आफूहरुले पाकेको गहुँ काट्न नपाएको जयपृथ्वी नगरपालिका–११ भोपुरका कृषक महादेव जोशीले बताए। उनले भने, “कतिपय किसानले काटिसकेको गहुँ पनि सुकाउन झार्न पाएका छैनन्। उनीहरुजस्तै जिल्लाका सबै किसानको उस्तै समस्या हो, पाकेको गहुँ खेतमै कुहिएको छ।”
यसपालि गहुँ पसाउने समयमा लगातार वर्षा भइरहदाँ गहुँबालीमा रोग देखिएकाले उब्जनी कम भएको जयपृथ्वी नगरपालीका–३ का किसान गजेन्द्र वलीले बताए। उनीजस्तै जयपृथ्वी नगरपालिका कृषि प्राविधिक मनराज जोशीले यस वर्ष मौसम बदलीका कारण धेरै पानी परेको हुदाँ गहुँमा पहेलो सिदुरे, ढुसीरोग लागेको बताए। यस वर्ष गहुँबालीमा उत्पादन कम हुने निश्चित छ। जिल्लामा डब्लुके एक हजार ४०० धवलागिरि, स्वर्गद्वारी र स्थानीय जातका गहुँ लगाउने प्रचलन रहेको उनले बताए।
कृषि ज्ञान केन्द्र बझाङका प्रमुख दिलबहादुर सिंहले सिँचाइ हुने ठाउँमा आकाशेपानी बढी परेकाले गहुँमा सिदुरेरोग देखापरेको बताए। जिल्लामा १० हजार ९०० हेक्टरमा गहुँखेती गर्ने गरिएको छ। चार हजार हेक्टरमा सिँचाइ हुने भएता पनि अन्य ठाउँमा आकाशेपानीको भरमा खेती हुने ज्ञान केन्द्रले जनाएको छ। रासस


























