बुटवल, बैशाख २३ । जंगलबाट ल्याएको विषालु च्याउ खाँदा अर्घाखाँचीमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ। परिवारकै अन्य दुई जना बिरामी भई उपचाररत छन्।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६ खिल्जीका ३२ वर्षिया रामकला महतरा र उनकी छोरी ७ वर्षीया वीपासा महतराको मृत्यु भएको हो। विषालु च्याउ खाएर बिरामी भएका उनीहरुको बुटवलको लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। अस्पतालमा उपचारका लागि भर्ना भएकी रामकलाको शनिबार राति र विपासाको सोमबार बिहान मृत्यु भएको लुम्बिनी सिटी अस्पतालका सहायक प्रशासन प्रमुख सुन्दर पोखरेलले बताए।
रामकलाकी सासु ५९ वर्षीया लालसरी महतरा र देउरानी २१ वर्षीया लक्ष्मी महतराको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। दुवै जनाको स्वास्थ्यमा सुधार आएपछि आईसीयू कक्षबाट मंगलबार जनरल वार्डमा सारिएको र भोलि डिस्चार्ज गरिने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत तेज केसीले जानकारी दिए।
च्याउ खाएपछि लगातार पखाला लाग्ने र बान्ता आएपछि बिरामी चारै जनाले सन्धिखर्कको एक मेडिकल पसलबाट औषधी किनेर सेवन गरेका थिए। पखाला र बान्ता नरोकिएपछि शनिबार अर्घाखाँची अस्पताल पुगेका उनीहरुलाई बुटवल रिफर गरिएको थियो।


























