काठमाडौँ, बैशाख २१ । आइतबार एकैदिन नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थपिएका १० सहित नेपालमा कोरोना संक्रमितको संख्या पनि ६९ पुगेको छ। तीमध्य ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको हो। नेपालमा हालसम्म ६३ हजारभन्दा बढीकाे पिसिआर परीक्षण गरिसकिएकाे छ।
मन्त्रालयले दिएको जानकारीअनुसार आइतबार नेपालगञ्जको प्रयोगशालामा परीक्षण गर्दा पुष्टि भएका कोरोना संक्रमितमध्ये ७ देखि ५८ वर्ष उमेरसम्मका रहेका छन्। तर, ७ वर्षका भनिएका संक्रमित बालक वा बालिका भनेर भनेर खुलाइएको छैन। यसअघि जनकपुरका १४ वर्षीय बालकमा कोरोनाको संक्रमण पुष्टि भएको थियो। १४ वर्षभन्दा मुनिका संक्रमित देखिएको नेपालमा यो नै पहिलो घटना हो। अध्ययनले बालबालिकाभन्दा ज्येष्ठ नागरिकलाई बढी कोरोना संक्रमण हुने देखाएको छ। नेपालमा आइतबारसम्मको तथ्यांक हेर्दा सबैभन्दा बढी उमेरको पेप्सीकोलाकी ८१ वर्षीया वृद्धामा कोरोना संक्रमण देखिएको थियो। उनी निको भएर घर फर्किसकेकी छिन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा देखिएका संक्रमित सबैको अवस्था सामान्य नै छ। हाल नेपालमा रुपन्देहीमा १, नेपालगञ्जमा १०, धनगढीमा १, चितवनमा १, वीरगञ्जमा ९ र विराटनगरमा ३१ गरी ४४ जनाको उपचार भइरहेको छ। हालसम्म १६ जना कोरोना संक्रमित निको भइसकेका छन्। तर यसअघि निको भएर घर फर्किएका रौतहटका १९ वर्षीय एक युवकलाई भने रिपोर्ट शंकास्पद देखिएपछि पुनः नारायणी अस्पताल वीरगन्जको आइसोलेसनमा ल्याइएको छ।


























