चितवन, बैशाख २१ । प्रेस स्वतन्त्रताको सुनिश्चित गराउन नेपाल प्रेस युनियन चितवनले सबै पक्षसंग आग्रह गरेको छ। लोकतन्त्र स्थापनापछि समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनु लाजमर्दो भएको भन्दै पूर्ण प्रेस स्वतन्त्रतामा गम्भीर रहन आग्रह गरिएको हो। ‘विश्व प्रेस स्वतन्त्रता दिवस’को अवसरमा प्रेस विज्ञप्ती जारी गर्दै युनियनले लोकतन्त्र स्थायित्वका लागि प्रेस स्वतन्त्र अपरिहार्य रहेको जनाएको छ। नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा पत्रकारहरुलाई निर्धक्क र भयरहित तरिकाले काम गर्ने वातावरण सृजना गर्न जिल्लाका सम्पूर्ण राजनैतिक दल, नागरिक समाज र आम नागरिकलाई आव्हानसमेत गरिएको छ।
‘समाचार लेखेकै आधारमा पत्रकारलाई साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गर्ने जस्ता कार्यले पत्रकारिताको मूल्य मान्यता विपरित छ,’ विज्ञप्तीमा भनिएको छ। आम पत्रकारहरुका लागि समाचार संकलन र सम्प्रेषणका काममा पछिल्लो समयमा भएका अवरोधप्रति युनियनले आफ्नो ध्यानाकर्षण भएको जनाइसकेको छ। ‘सरकारी पक्षबाट पत्रकारमाथि भएका ज्यादति र दमनको भर्तसना गर्दै आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउन हामी आग्रह गर्दछौँ,’ विज्ञप्तीमा भनिएको छ, ‘केन्द्रदेखि स्थानीय तहसम्म सबै राजनैतिक दल नै प्रेस स्वतन्त्रताप्रति गम्भीर नभएको घटना क्रमले देखाउँदै आएको छ।’
कोरोनाको संक्रमणका बाबजुत निरन्तर आफ्नो कार्यक्षेत्रमा खटिने पत्रकारको योगदानको उच्च कदर गरेको जनाएको छ। कोरोना संक्रमणका कारण विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन नपाएको उल्लेख गर्दै ‘भय र पक्षधरतामुक्त पत्रकारिता’लाई आत्मसाथ गर्दै यो दिवसलाई आ–आफ्नो कर्म क्षेत्रबाटै मनाउन पनि विज्ञप्तीमार्फत आव्हान गरिएको छ। साथै देशको विषम परिस्थितिले गर्दा कुनै पत्रकारलाई समस्या परेमा युनियनलाई खबर गर्न पनि आग्रह गरेको छ।


























