सुनसरी, माघ १९ । सुनसरीको तित्रृवनमा आज विहान बस र माइक्रो बस एक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा ८ जना घाइते भएका छन्।
दुर्घटनामा ज्यान गुमाउनेमा काठमाडौका हेमराज कोईराला, माइक्रोका चालक दिपक खड्काको पहिचान खुलेको छ भने अन्य २ जनाको पहिचान हुन बाँकी रहेको ट्राफिक प्रहरी कार्यलय सुनसरीका असई ज्ञानु देउजाले जानकारी दिए।
दुर्घटनामा घाइते चार जनाको इनरुवा अस्पतालमा उपचार भइरहेको छ। २ जनाको एपेक्स अस्पताल र अन्यको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
इटहरीबाट इनरुवातर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रबो बस र इनरुवाबाट इटहरीतर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।


























