चितवन, बैशाख २० । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि खटिरहनुभएका सुरक्षाकर्मीका लागि एमभी दुगड ग्रुपअन्तर्गत विवेक अटो मोबाइल प्रालि पोखराले स्वास्थ्य सामग्री तथा खाजा सहयोग गरेको छ।
चितवनको इलाका प्रहरी कार्यालय मुग्लिनको चेकपोष्ट, गण्डकी प्रदेशको मूलद्वार इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको पुलजिप चेकपोष्ट र प्रहरी चौकी मझुवा गोरखाको चेकपोष्टमा खटिएका प्रहरी तथा सुरक्षाकर्मीका लागि सो संस्थाले शुक्रबार स्यानिटाइजर, मास्क, पिउने पानी र चाउचाउ सहयोग गरेको हो।
प्रत्येक चेकपोष्टलाई २० थान स्यानिटाइजर, १०० थान मास्क, पाँच कार्टुन पिउने पानी र दुई कार्टुन चाउचाउका दरले सहयोग गरेको विवेक अटोमोबाइल प्रालि गण्डकी प्रदेशका प्रमुख अनिल श्रेष्ठले जानकारी दिए।
लकडाउनको समयमा दिनरात सुरक्षामा खटिएका प्रहरी तथा सुरक्षाकर्मीको स्वास्थ्यलाई ध्यानमा राखी विवेक अटोमोबाइल प्रालि पोखराका कर्मचारी उमेश भट्टराई र राजकुमार श्रेष्ठको सहयोगमा सो स्वास्थ्य सामग्री तथा खाजा वितरण गरेको उनले बताए। रासस


























