काठमाडौं, बैशाख १९ । नेपाली सेनाले कोभिड–१९ का लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन आगामी मङ्गलबार र बुधबार नेपाल वायु सेवा निममका दुई बाइडबडी जहाज चीनको ग्वान्जाओ पठाउने तयारी गरेको छ।
स्वास्थ्य सामग्री खरिदका लागि सेनाले द्रुतगतिमा प्रक्रिया अगाडि बढाएको थियो। सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट ती सामग्री खरिदका लागि सरकार–सरकार ९जिटुजी० मार्फत प्रक्रिया अगाडि बढाएको हो। नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी विज्ञानदेव पाण्डेले निगमको जहाजले झण्डै ३० टन स्वास्थ्य सामग्री ल्याउने जानकारी दिए। तत्कालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हवाई मार्ग र अन्य सामग्री स्थलमार्गबाट ल्याउने तयारी गरिएको जनाइएको छ।
चीनमा मजदूर दिवस लगायतका सार्वजनिक बिदा भएकाले मङ्गलबार मात्रै निगमको जहाज पठाउने तयारी भएको हो। “हामीले बिदा भए पनि आवश्यक प्रक्रिया मिलाएर सामान ल्याउने वातावरण बनाइदिन आग्रह गरेका छौँ”, उनले भने।
हवाईमार्गबाट कूल ३० टन सामान आयात गर्न सकिए बाँकी रहेका ३१२ टन सामान भने स्थलमार्ग हुँदै नेपाल–चीन सीमाना तातोपानी ल्याइनेछ। ग्वान्जाओबाट हिँडेको सामान सात दिनमा तातोपानी आइपुग्नेछ। सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भइ रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टङ्गो लगाएको थियो।
सेनाले १० दिन पहिले नै नेपाल राष्ट्र बैंकमार्फत आवश्यक रकम चीन पठाएको थियो। ढुवानीका लागि लाग्ने रकमका सम्बन्धमा रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा आग्रह गरिएको थियो। अत्यावश्यक सामान खरिदका लागि सेनाले एक करोड ८४ लाख ४१ हजार ७०६।३५ अमेरिकी डलर भुक्तानी गरिसकेको छ। त्यसमा ढुवानी भाडा भने जोडिएको थिएन। नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको छ।
चीनबाट ३४२ टन स्वास्थ्य सामग्री जिटुजी प्रक्रियाबाट खरिद गर्न लागिएको हो। कूल ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गर्न लागिएको हो। स्वास्थ्य सामग्री खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग सम्झौता भएको हो। रासस


























