बैशाख १९ । म्यान्चेष्टर सिटीका फरवार्ड सर्जियो अग्युरोले खेलाडीहरु मैदान फर्कन डराएको बताएका छन्। कोरोना भाईरसको महामारी पछि खेलाडीहरु अभ्यासमा फर्कन डराएको अग्युरोको भनाई छ।
प्रिमियर लिग जुन ८ बाट सुरु गर्ने तयारी गरिएको छ। सबै खेलाडीहरु मे १८ भित्र अभ्यासमा फर्कने बताईएको छ। शीर्ष क्लबको शुक्रबार बस्ने बैठकले लिग पुन सुरु गर्ने बिषयमा औपचारिक निर्णय गर्नेछ।
‘अधिकांश खेलाडीहरु डराएका छन्। किनकी उनीहरुको बच्चा र परिवार छन्।’ अग्युरोले भनेका छन्।
अर्जेन्टिनी टेलिभिजनमा अन्तरवार्ता दिदै उनले भनेका छन्, ‘म डराएको छु। म यहाँ प्रेमिकासंग छु। म अरुसंग सम्पर्कमा गएको छैन। आफ्नो घरमा बन्द अवस्थामा छु। मैले संक्रमित गर्न सक्ने ब्यक्ती भनेको मेरी प्रेमिकानै हो।’
प्रिमियर लिग मार्च १३ सम्मका लागि स्थगित गरिएको थियो। तर सबै क्लब सिजनका बाँकी ९२ खेल खेल्न तयार देखिएका छन्। सबै खेल बन्द रंगशालामा सञ्चालन गरिने अपेक्षा गरिएको छ।
अर्जेन्टिनी फरवार्डले उनी र उनका साथी मैदान फर्कदा केही नरम र अतिरिक्त सावधान हुने बताए।
सामाजिक दुरी कायम राख्दै सुरु हुने प्रशिक्षणमा साप्ताहिक रुपमा दुई पटक खेलाडीको स्वास्थ्य परिक्षण गरिनेछ र हरेक दिन कोरोनाको लक्षणको जाँच गरिनेछ। एजेन्सी


























