काठमाडौँ, बैशाख १८ । बिहीबार नयाँ कोरोनाभाइरसका संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ५७ जना संक्रमित फेला परेका छन् भने १६ जना स्वस्थ बनेर घर फर्किसकेका छन्। ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए।
डा. देवकोटाका अनुसार हालसम्म १२ हजार ११ जनाको पीसीआर परीक्षण र ४६ हजार ८६० जनाको आरडीटी परीक्षण गरिसकिएको छ। पछिल्लो २४ घण्टामा १ हजार ६८२ जनाको परीक्षण भएको छ।
प्रदेश १ मा ४९८५, प्रदेश २ मा ५४५६, बागमती प्रदेशमा ८३६१, गण्डकी प्रदेशमा ५४११, प्रदेश ५ मा ३७९९, कर्णाली प्रदेशमा ५४३६ र सुदूरपश्चिम प्रदेशमा १३४११ जनाको आरडीटी परीक्षण गरिएको छ।
हाल क्वारेन्टाइनमा २३ हजार ३३६ रहेका छन् भने ८० जना आइसोलेसनमा रहेका छन्।


























