चितवन, बैशाख १७ । नेपाल प्रेस युनियन चितवनले समाचार लेखेकै कारण पत्रकार सुबास पण्डितलाई आएको धम्की प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बुधबार अध्यक्ष अनिल ढकालद्वारा हस्ताक्षरित बिज्ञप्ती जारी गर्दै प्रेस युनियन चितवनले अनलाईनखबर डटकममा कार्यरत सुवास पण्डित लगायतका पत्रकारहरुलाई लक्षित गरी दिईएको धम्की र गालीगलौचप्रती गम्भिर ध्यानाकर्षण भएको जनाएका हो।
भरतपुर कोरोना बिषेश (अस्थाई) अस्पतालमा कार्यरत कर्मचारीहरुबाट अस्पतालमा भएका शंकास्पद गतिविधिका सन्दर्भमा लेखिएको समाचारलाई लिएर पत्रकारलाई दिईएको धम्कीको युनियनले भर्त्सना गरेको छ।
“भरतपुर कोरोना बिषेश (अस्थाई) अस्पतालमा कार्यरत कर्मचारीहरुबाट अस्पतालमा भएका शंकास्पद गतिविधिका सन्दर्भमा सञ्चार माध्यममा आएका समाचारलाई लिएर आएका धम्की र गालीगलौजप्रति नेपाल प्रेस युनियन चितवनको गम्भीर ध्यानाकर्षण भएको छ। मुख्य रुपमा अनलाईनखबर डटकममा कार्यरत पत्रकार सुवास पण्डित लगायतका पत्रकारहरुलाई लक्षित गरी दिईएको धम्कीप्रति युनियन घोर भर्त्सना गर्दछ” बिज्ञप्तीमा भनिएको छ।
युनियनले समाचारमा चित्त नबुझे कानुनी उपचारको मार्ग हुँदा हुँदै पनि दिईएको धम्की समग्र पत्रकारिता क्षेत्रमाथिको प्रहार भएको जनाएको छ। उसले पत्रकारलाई धम्की दिने अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ चितवन र अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनले चितवनलाई कारबाहीको माग गरेको छ।
यस्तै सत्तामा रहेका जिम्मेवार दलबाट नै समाचार लेख्न रोक्ने गरी आएका वक्तव्यले लोकतान्त्रिक व्यवस्थाको नै खिल्ली उडाएको युनियनको निष्कर्ष छ। युनियनले पत्रकारहरुको सुरक्षाको ग्यारेन्टी गर्न प्रशासनसंग जोडदार माग गरेको छ।
भरतपुर कोरोना अस्पतालमा कार्यरत कर्मचारीहरुबाट भएका शंकास्पद गतिविधिका सन्दर्भमा आएका समाचारलाई लिएर अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनले मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै पत्रकारलाई धम्की दिएको थियो।



























