बैशाख १७ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का खेलाडीले तलब कटौतीको प्रस्ताव अस्विकार गरेका छन्।
महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण आर्थिक समस्यासंग जुध्न क्लबले राखेको तलब कटौतीका प्रस्ताव खेलाडीले अस्विकार गरेका हुन्।
नेयमार लिग वानमा सर्वाधिक कमाई गर्ने खेलाडी हुन्। उनले साप्ताहिक ६ लाख पाउण्ड तलब लिदै आएका छन्। यस्तै, केलियन एम्बाप्पेले साप्ताहिक ३ लाख ७५ हजार पाउण्ड तलब बुझ्दै आएका छन्।
तलब कटौतीका प्रस्ताव अस्विकार गरेसंगै क्लब र खेलाडीबीचको छलफल रोकिएको छ।
क्लबका अध्यक्ष अल खालिफाले पछिल्लो हप्ता एक अन्तरवार्तामा क्लबको लागत कम गर्नका लागि खेलाडीले सहयोग गर्नुपर्ने धारणा राखेका थिए।
‘म अपेक्षा गर्छु, उनीहरुले क्लबलाई सहयोग गर्नेछन्।’ उनले भनेका थिए।
फ्रेन्च मिडियाका अनुसार क्लबका कप्तान थिएगो सिल्भा र उपकप्तान मार्कुन्होसले खेलाडीको तलबबाट क्लबसंग छलफल गरेका थिए।
क्लबले खेलाडीले स्वेच्छिक रुपमा तलब कटौतीको प्रस्तावमा सहयोग गर्ने अपेक्षा गरेको थियो। मंगलबार साँझमात्र लिग वानको यो सिजन रद्ध गरिएको घोषणा गरिएको थियो।
कोरोना भाईरसको महामारीबाट धेरैनै प्रताडित बनेको फ्रान्सले यस सिजनको शीर्ष डिभिजनका दुई लिग रद्ध गर्ने घोषणा गरेको थियो। पछिल्लो निर्णयसंगै पीएसजीले करिब २ सय १० मिलियन पाउण्ड रकम गुमाउने अनुमान गरिएको छ। एजेन्सी


























