काठमाडौं, बैशाख १६ । देशभरको मौसम आज पनि सुधार नहुने भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका विभिन्न स्थानमा हुरिबताससहित असिना पानी पर्ने सम्भावना कायमै रहेको छ।
पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलबाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले आज पनि वर्षा हुने महाशाखाको पूर्वानुमान छ।
अहिले पश्चिम तथा पूर्वका केही क्षेत्र र मध्य पहाडी भू–भागमा सामान्य बदली भई एक–दुई स्थानमा वर्षा भइरहेको छ।
दिउँसोसम्म देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।
आज राति पनि देशभर सामान्य बदली भई मध्य र पूर्व तथा पश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिना र हावाहुरीसहितको बर्षा हुने महाशाखाले जनाएको छ।
प्रिमनसुन समेत सुरु भएपछि केही दिनयता दिनैपिच्छे वर्षा हुँदै आएको छ।


























