न्यूजिल्याण्ड, बैशाख १५ । न्यूजिल्याण्डमा लकडाउन खुकुलो पारिएको छ। कोरोना भाइरस सामुदायिक रुपमा संक्रमण फैलन रोकिए पछि यस्तो निर्णय लिईएको न्युजिल्याण्ड सरकारले जनाएको छ। धेरै दिन पछि आइतबार न्यूजिल्याण्डमा एक जनामा मात्र संक्रमण पाइएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
आफ्नो मुलुकमा कोरोना भाइरस हाल निर्मुल पारिएको न्यूजिल्याण्डकी प्रधानमन्त्री जकिन्डा आर्डेनले दाबी गरेकी छिन्। यद्यपी केही सरकारी अधिकारीहरुले भने यसलाई नयाँ कोरोना संक्रमणको अन्त्य मान्न नहुने भन्दै चेतावनी दिएका छन्।
न्यूजिल्याण्डमा केहि सामाजिक प्रतिबन्धहरु हटाउन लागिएको छ। मंगलबारबाट व्यापार, स्वास्थ्य सेवा र शिक्षाका गतिविधिहरु पुन संचालनमा ल्याइने छ। तर अधिंकाश मानिसले भने सामाजिक दुरी कायम राख्नका लागि घरमा नै रहनु पर्नेछ। अर्थ व्यवस्थालाई खुकुलो पारिएता पनि न्यूजिल्याण्डमा मानिसको सामाजिक जीवनमा प्रतिबन्ध यथावत रहनेछ।
हालसम्म न्यूजिल्याण्डमा कोरोना भाइरसको पुष्टि एक हजार पाँच सय भन्दा कममा देखिएको छ भने १९ जनाको मृत्यु भएको छ। कोरोना महामारीको सुरुवाती दिनमा एक दर्जन मानिसमा संक्रमण देखिए पछि न्यूजिल्याण्डले कडा प्रतिबन्धहरु घोषणा गरेको थियो। सिमाना बन्द गर्नका साथै कडा लकडाउन गरेको न्यूजिल्याण्डले विस्तृत परिक्षणका साथै सम्पर्क ट्रेसिंग पनि व्यापाक रुपमा बढाएको थियो।
सोमबार मध्यरात १२ बजेबाट न्यूजील्याण्ड लकडाउनको चौथो चरणबाट तेस्रो चरणमा प्रवेश गर्दैछ। अर्थात धेरै जसो व्यापार व्यवसाय र रेष्टुरेन्टहरु खोल्न सकिनेछ। तर प्रत्यक्ष रुपमा मानिसहरु सम्पर्कमा रहने भने पाइने छैन।
न्यूजील्याण्डका नागरिकलाई निकट मित्र वा परिवारसँग पनि २ मिटरको दुरी कायम रहन भनिएको छ। सामुहिक भेलाहरु अझै पनि प्रतिबन्धित छन् भने सपिंग सेन्टर र धेरै जसो विद्यार्थीहरु विद्यालय जाने छैनन्। यससँगै न्यूजील्याण्डका सिमाहरु बन्द रहनेछन्। एजेन्सी


























