बैशाख १५ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबारे विभिन्न गीत तथा म्यूजिक भिडियोहरु निर्माण भइरहेका छन्। तर अमेरिकी निर्देशक चाल्र्स ब्यान्डले केरोना संक्रमणमाथि पहिलो फिल्म नै निर्माण गरेका छन्।
‘कोरोना जाम्बिज’ नाम दिइएको फिल्म सिनेमा हलमा ल्याउने अबस्था नभएपछि डिजिटल प्लेटफर्मबाट रिलिज गरिएको छ।
फिल्मको ट्रेलर केही दिनअघि रिलिज हुँदा भाइरल भएको थियो । धेरैले फिल्म हेर्न माग गरेका थिए। फिल्म र ट्रेलर निकै डरलाग्दो बनेकाले बालबालिकालाई अभिभावकको साथबाहेक एक्लै यो फिल्म नहेर्न निर्माण पक्षले अनुरोध गरेको छ।
गत जनवरीमा चीनमा कोरोना संक्रमण देखिएपछि यो फिल्मको कथा परिवर्तन गरेर कोरोना संक्रमणको विषयमा फिल्म निर्माण गरिएको हो।
निर्देशक चाल्र्स कोरोनाले संसारमा विकराल रूप लिन्छ भन्ने बुझेरै आफूहरूले यसको कथा तयार गरेको र अहिले त्यही अवस्था आएको बताएका छन्।
फिल्ममा कोडी रेनी क्यामरुन, रसेल कोकर, रबिन सिड्नीजस्ता कलाकार मुख्य भूमिकामा छन्।
एक जना व्यक्ति कोरोनाबाट मरेपछि उसलाई जाम्बिज पात्र बनाइएको र उसको पीडादायी कथा समेटिएको छ। जाम्बिजलाई प्रेतात्मा बनाएर अभिनय गराएकाले फिल्म रोचक बनेको बताइएको छ।


























