लन्डन, बैशाख १४ कोरोना भाइरसबाट संक्रमित भई उपचार गराइरहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबारबाट नियमित काममा फर्किने भएका छन्। लन्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गराएका उनी पूर्ण निको भएकाले नियमित काममा फर्किन लागेको अधिकारीहरुले जनाएका छन्। उनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरुलाई सोमबारबाट सामान्य अवस्थामा झैं काम गर्न थाल्ने बताएका छन्।
प्रधानमन्त्री जोन्सनले चिकित्सकहरुको सल्लाह अनुसार नै आफू नियमित काममा फर्किन लागेको जानकारी दिए। प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन कक्षमा ३ रात बिताएका थिए। त्यसपछि एक साता सामान्य शैयामा बसेका थिए। सघन कक्षबाट बाहिरिएपछि उनले विभिन्न माध्यमबाट अति आवश्यक पर्ने व्यक्तिहरुलाई भेट्ने, कुराकानी गर्ने लगायतका क्रियाकलाप गर्दै आएका थिए।
प्रधानमन्त्री अस्वस्थ भएर अस्पतालमा रहेका बेला उनको अनुपस्थितिमा अधिकांश काम विदेशमन्त्री डोमिनिक राबले गरेका थिए। बेलायतमा कोरोना भाइरसका कारण अहिलेसम्म २० हजार ३१९ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २ हप्तामा बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या निकै बढेको छ। रासस/एएनआई


























