काठमाण्डौँ, बैशाख १३ । ह्वावेले सन् २०१९ मा सन् २०१८ को तुलनामा २०१९ मा १९ दशमलव १ प्रतिशतले आय वृद्धि गरेको छ। सन् २०१९ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अघिल्लो वर्षभन्दा पछिल्लो वर्ष बढी आम्दानी गर्न सफल भएको जानकारी गराएको हो। प्रतिवेदनअनुसार सन् २०१९ मा ८५८ दशमलव ८ अर्ब चिनियाँ युआन आम्दानी गर्न सफल भएको छ। जसमध्ये ६२ दशमलव ७ अर्ब चिनियाँ युआन खुद नाफा गर्न सफल रहेको ह्वावेले दाबी गरेको छ।
‘विभिन्न गतिविधि सञ्चालन गर्नका लागि ९१ दशमलव ४ अर्ब चिनियाँ युआन नगद प्रवाह गरिएको थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.४ प्रतिशतले वृद्धि हो,’ प्रतिवेदनमा भनिएको छ, ‘प्राविधिक नवीनता तथा अनुसन्धानमा गरिरहेको दीर्घकालीन लगानीको हिस्सास्वरूप सन् २०१९ मा ह्वावेले आफ्नो आयको १५ दशमलव ३ प्रतिशत अर्थात् १३१ दशमलव ७ अर्ब चिनियाँ युआन लगानी गर्यो।’ रिसर्च एण्ड डिभेलपमेन्टमा ह्वावेले गएको दशकमा गरेको खर्च ६०० अर्बभन्दा धेरै रहेको पनि प्रतिवेदनमा उल्लेख छ।

ह्वावेका लागि सन् २०१९ अभूतपूर्व वर्ष रहेको ह्वावे अध्यक्ष (रोटेटिङ चेयरम्यान) एरिक सुले दाबी गरे। ‘ठूलो स्तरमा वाह्य दबाब भए पनि हाम्रो टिमले सहकार्य गर्दै हाम्रा ग्राहकहरूका निम्ति महत्त्व दिने हाम्रो एकमात्र ध्यान रह्यो,’ उनले भने, ‘विश्वभर रहेका हाम्रा ग्राहक र साझेदारहरूको आदर र विश्वास जित्न हामीले कडा मेहेनत गरेका छौँ। सोहीकारण व्यापार प्रदर्शन निकै उत्कृष्ट रहन सफल भयो।’


























