काठमाडौं, बैशाख १३ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसबाट मुलुकको अवस्था सामान्य भएको तीन सातापछि मात्रै परीक्षाहरु हुने बताएका छन्।
उनले विद्यार्थीहरु विद्यालय र कलेजबाट घर गएका कारण स्थिति सामान्य भएको तीन साताबाट मात्रै परीक्षाहरु गराउँने बताए।
शिक्षा पत्रकार समूहले गरेको भिडियो कन्फरेन्समा मन्त्री पोखरेलले भने ,‘विद्यार्थीहरु विद्यालय र कलेजबाट घर गएका छन् त्यसैले स्थिति सामान्य भएको तेस्रो साताबाट मात्रै परीक्षा गराउछौ।’
आफू सकेसम्म परीक्षा गराउने पक्षमा रहेको भन्दै उनले कक्षा १० र ११ को परीक्षामा विकल्प आएको बताए। आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णयपछि मन्त्रालयले कार्ययोजना बनाउने उनले बताए।
आइबारको मन्त्रिपरिषद्ले लकडाउन बढाउने वा खुकुलो बनाउने निर्णय गर्ने छ। आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र कार्यदलले तत्काल लकडाउन खोल्न नहुने राय दिएका छन्। कार्यदलले एक साता लकडाउन लम्ब्याउन सिफारिस गरेको छ।
लकडाउनका कारण एसईई र अन्य परीक्षाहरु प्रभावित बनेका छन्।


























