सर्लाही, बैशाख १३ । सर्लाहीमा शुक्रबार दिउँसो हावाहुरीसहित परेको असिना–पानीले जिल्लाको उत्तरी भेगमा ठूलो क्षति पुर्याएको छ।
हावाहुरी र पानीसँगै परेको असिनाले बालीनालीमा ठूलो क्षति पुर्याउनुका साथै खेतमा काम गरिरहेका कामदार तथा वस्तुभाउ चराउन गएका गोठालासमेत घाइते भएका छन्।
असिना लागेर बाख्रा, कुखुरा, कुखुराको चल्ला तथा रुखमा बस्ने चरासमेत मरेका छन्।
असिनाले लालबन्दी नगरपालिका वडा नं १२, १३, १४, १५ र १६ मा केरा, मकै, आँप, तरकारी खेतीलगायत विभिन्न बालीमा क्षति पुर्याएको हो। असिनाले खपडा तथा टाली, एलबेस्टरले छाएका घरको छानोमा समेत क्षति पुर्याएको छ।
हावाहुरीका कारण दर्जनौँ घरका छाना उडाएको छ भने कतिको घर, गोठसमेत भत्काएको छ। ईश्वरपुर नगरपालिका वडा नं १२ मा समेत असिनाले ठूलो क्षति पुर्याएको स्थानीयवासीले जनाएका छन्।
यसैबीच हावाहुरी र असिनापानीमा परेर लालबन्दी नगरपालिका–११ मा दुई घाइते भएका छन्। खेतमा काम गरिरहेको अवस्थामा असिनापानीले चुट्दा ६० वर्षीया जेसुनमाया घिसिङ र घरको जस्ता खसेर लाग्दा ७० वर्षीय लालबहादुर ब्लोन घाइते भएका वडाध्यक्ष दीपककुमार लामाले जानकारी दिए।
घाइते जेसुनमायाको स्थानीय मेडिकलमा उपचार भइरहेको वडाध्यक्ष लामाले बताए।
ठूलाठूला असिनाले हुर्कंदै गरेको आँप, केरा, मकैबाली र तरकारीमा क्षति पुर्याएको स्थानीयवासीले बताएका छन्। “ठूलो–ठूलो असिना र्झयो। एकैछिनमा मकैबाली र तरकारी कुट्यो”, खेतमा काम गरिरहेको ६० वर्षीया जेसुनमाया घिसिङले भनिन्, ठूलाठूला असिनाले चुट्दा आफू घाइते भए।”
असिनापछि भारी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा लगाएका बालीनालीमा समेत क्षति पुगेको छ। तीव्रगतिका हावाहुरीका कारण जिल्लाको कतिपय स्थानमा बिजुलीका पोल रुख ढलेका छन्। जसका कारण विद्युत् प्रसारण अवरुद्ध भएको छ। त्यस्तै जिल्लाको बसबरिया गाउँपालिकामा समेत असिनाले ठूलो क्षति पुर्याएको वडा नं १ का वडाध्यक्ष शिवकुमार यादवले जानकारी दिए।
“लकडाउनको समय छ। खानेकुरा साँच्नुपर्ने बेला हुर्कंदै गरेको बाली र फलेको तरकारीमा असिनाले क्षति पुर्यायो”, उनले भने, “आँप, मकै र तरकारीबालीमा क्षति पुर्याएपछि यस भेगका किसान चिन्तित बनेका छन्।” असिनाले बसबरिया गाउँपालिकामा पनि ठूलो क्षति पुर्याउनुका साथै घरहरुमा समेत क्षति पगुेको वडाध्यक्ष यादवले जानकारी दिए।
कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार असिनापानीले किसानका आँप, मकैबाली र तरकारीमा ठूलो क्षति पुर्याएको छ। आँप, मकैबाली र तरकारीमा क्षति र्पुयाएपछि किसान चिन्तित बनेका छन्। हावाहुरी र असिनापानीबाट के कति क्षति पुर्याए भनेर विवरण आउन बाँकी रहेको केन्द्रले जनाएको छ। रासस


























