उदयपुर, बैशाख १३ । त्रियुगा नगरपालिका वडा नम्बर ३, भुल्केमा २८ जना सङ्क्रमित पुष्टि भएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोली उदयपुर आएको छ।
कोरोनाबाट उत्पन्न समस्याको विषयमा बुझ्न राजन पटेलको नेतृत्वामा डब्लूएचओेको टोली उदयपुर आएको हो।
स्वास्थ्य सेवा विभाग टेकुका इडीसीडीका लिलाविक्रम थापा, प्रदिप रिमाल, पशुसेवा विभागका डा.सुजन रानाको टोली बिहीबार त्रियुगा नगरपालिका ३, भुल्केमा आएको हो।
उक्त टोलीले सङ्क्रमित क्षेत्रको अवस्था विश्लेषण गरि अवको रणनीतिको बारेमा कोरोना नियन्त्रण उच्च स्तरिय संयन्त्रलाई सुझाव पेश गर्नेछ। स्वास्थ्य कार्यालय उदयपुर र नगरपालिकालाई सहयोग पुर्याउनको लागि टोली आएको टोलीका सदस्य प्रदिप रिमालले बताए।
हालसम्म टोलीले सङ्क्रमित क्षेत्रमा गई बालबालिकाहरुको स्वास्थ्यको अवस्थाको बारेमा बुझेर त्यस समुदायमा सामान्य किसिमका बिरामीहरु देखिएकोले नगरपालिकालाई दिएको सुझाव अनुसार शुक्रवार १ दिने स्वास्थ्य शिविर सञ्चालन भएको रिमालले बताए।
सङ्क्रमित क्षेत्रमा रहेका स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रमा गरी २ वडामा कोरोना सङ्क्रमित भेटिएको खण्डमा कसरी उपचार गर्नै निगरानी कसरी गर्ने, सङ्क्रमितको सम्पर्कमा आएकाहरुको निगरानी फर्म भर्ने, भन्ने विषयमा अभिमुखीकरण कार्यक्रम चलाएको रिमालले बताए।
कोरोना कहाँ र कसरी भित्रियो, सङ्क्रमण कुन तहमा जादैछ, कोरोना कसरी फैलँदै छ भन्ने विषयमा स्वाब संकलन गरिएको रिपोर्ट र टोलीले गरेको स्थलगत अनुसन्धानको आधारमा मात्र निष्कर्ष निकालिने टोलीका सदस्य रिमालले जानकारी दिए।


























