काठमाडौं, बैशाख १२ । कोभिड–१९ को सङ्क्रमण रोक्न जारी लकडाउनका कारण काठमाडौँमा रोकिएका जिल्लावासीको उद्धार भइरहेको छ। अत्यावश्यक काम लिएर राजधानी शहर पुगेका मानिस लकडाउनबीच घर फर्कन पाएका छन्। उपचारार्थ गएका, तिनका कुरुवा, महिला, ज्येष्ठ नागरिक, काम गुमाएका मजदुरलगायतलाई स्थानीय तहले उद्धार गरेका हुन्।
समस्यामा परेकालाई जिल्ला फर्काउन सङ्घीय सासंद, दलका नेता र सामाजिक अगुवालेसमेत समन्वय गरिरहेका छन्। बागलुङ–१ का सांसद देवेन्द्र पौडेलले बुधबारदेखि उद्धार थालिएको बताए। “बिहीबारसम्ममा ५०० भन्दा बढी घर फर्कनुभएको छ”, उनले भने, “शनिबारसम्म उद्धार गर्ने व्यवस्था मिलाएका छौँ।” उहाँले बढी समस्यामा परेकालाई पहिलो प्राथमिकता दिइएको बताए।
ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले लकडाउनमा फेसका १५ आज बिहान घर आइपुगेको जानकारी दिए। उनका अनुसार उद्धार गरिएकामा कतिपय विद्यार्थीसमेत छन्। “गाउँपालिका प्रवेश गर्नुपूर्व स्वास्थ्य अवस्था जाँचेर क्वारेन्टाइनमा बस्ने गरी ल्याइएको छ”, गाउँपालिका अध्यक्ष घर्तीले भने। उद्धार गरि ल्याइएकाको व्यक्तिगत विवरण र मोबाइल नम्बर राख्ने गरिएको छ।
ढोरपाटन नगरपालिका, गलकोट नगरपालिकासहित अन्य स्थानीय तहका सयौँ व्यक्ति काठमाडौँबाट गाउँ फर्किएका छन्। बाहिरबाट उद्धार गरी ल्याइएकालाई विशेष निगरानीमा राखिएको स्थानीय तहले बताएका छन्। यात्रा अवधिमा पनि व्यक्तिगत सुरक्षा सावधानी अपनाउन लगाएर उद्धार गर्ने गरिएको छ। स्वास्थ्य अवस्था बुझ्ने र विगतको यात्रा विवरणसमेत लिने गरिन्छ। सङ्कट गहिरिँदै गएका बेला आफ्नै घर फर्कन पाउँदा उद्धार गरिएकाहरु खुशी छन्।
गलकोट नगरपालिका–७ मल्मका वसन्त खड्का विगत एक महिनादेखि काठमाडौँमा कामविहीन भएर बस्नुपरेको थियो। “लाजिम्पाटको एउटा होटलमा काम गर्थे, एक महिनाअघि काम रोकियो”, उनले भने, “कहिले गाउँ फर्कौँ जस्तो भएको थियो, आउन पाइयो खुसी लाग्यो।”
लकडाउनका बेला यसरी गरिएको उद्धारको आलोचना पनि भइरहेको छ। सयौँ मानिस एकसाथ गाउँ भित्रिँदा सङ्क्रमणको जोखिम बढ्न सक्ने चिन्ता प्रकट गरिएको छ। केही दिन यता देशभरका स्थानीय तहको पहलमा राजधानीलगायत अन्य ठूला शहरमा फसेका मजदुरलगायत सर्वसाधारणको उद्धार कार्य चलिरहेको छ। रासस


























