बैशाख १२ । कोरोना भाइरसविरुद्ध अमेरिकी कम्पनी गिलिड साइन्सको औषधि रेमडेसिभिर पहिलो परीक्षण असफल भएको खुलासा भएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को वेबसाइटमा भुलवस यस सम्बन्धि प्रतिवेदन प्रकाशित भएपछि रेमडेसिभिर पहिलो परीक्षण असफल भएको खुलासा भएको बिबिसीले उल्लेख गरेको छ।
मिडिया रिपोर्ट अनुसार चिनियाँमा गरिएको परीक्षणले कोरोना संक्रमित बिरामीको अवस्थामा सुधार ल्याउन नसकेको उल्लेख गरिएको छ। साथै यस औषधिले शरीरमा भाइरसको मात्रा घटाउन नसकेको देखाएको डब्लुएचओको रिपोर्टमा उल्लेख छ।
रिपोर्टमा कुल २३७ विरामीमा गरिएको प्रयोगमा १५८ जनालाई रेमडोसिभिर दिइएको र ७९ जनालाई प्लेसिबो दिइएको थियो। एक महिनापछि सो रेमडोसिभिर दिइएका १३.८ प्रतिशत विरामीको मृत्यु भएको थियो भने प्लेसिबो औषधि दिइएका १२।८ प्रतिशत विरामीको मृत्यु भएको पाइएको थियो।
साइड इफेक्टक कारण शुरुमा नै यसलाई रोकिएको बताइएको छ। डब्लुएचओको सो रिपोर्ट अहिले वेभसाइटबाट भने हटाइएको छ।
अमेरिकी औषधि कम्पनि गिलिएड साइन्सले भने डब्लुएचओको सो पोष्टको विरोध गरेको छ। गिलिएडका प्रवक्ताले डब्लुएचओ रिपोर्टमा यस अध्ययन सम्बन्धि गलत जानकारी भएको दाबि गरेका छन्।
उनले यस प्रकारका ट्रायल अनिर्णायक हुने बताउदै यसको अर्थ अब यो औषधि फेरी प्रयोगमा आउदैन भन्ने नभएको बताएका छन्।
त्यस्तै टाइम म्यागेजिनका अनुसार रेमडोसिभीरको प्रयोग अमेरिका, युरोप र क्यानाडामा पनि भएको छ। ५३ विरामीमा गरिएको प्रयोगमा ६८ प्रतिशत विरामीले श्वास प्रश्वासमा १० दिनमा सुधार भएको र अर्को १२५ विरामीमा गरिएको प्रयोग सफल भएर उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको बताइएको छ। यद्यपी यी प्रयोग चिनियाँ अध्ययनमा जस्तो रेमडेसिभिर र प्लासेबोमा तुलना भने गरिएको थिएन।


























