– मनोज घिमिरे
कोरोना कहरबीच पनि आफ्नो पेशाको वास्तविक धर्म निभाइरहनुभएका सम्पूर्ण सञ्चारकर्मी साथीहररूप्रति हृदयदेखि नै सम्मान अनि साधुवाद व्यक्त गर्दछु।
विश्व रोकिएको यो क्षणमा नेपाल र नेपाली झनै मर्कामा छन्। नेपाल पनि महामारीको तेश्रो चरणमा प्रवेश गरिसकेको छ। कोरोना भाइरसको महामारी कै कारण धेरै क्षेत्रका स्थापित व्यक्तिहरू कामबाट विस्थापित हुने अवस्थामा पुग्ने त होइनन् भन्ने कुरा चिन्ताको विषय बनेको छ।
दैनिक ज्यालामजदुरी गरेर जीवन निर्वाह गरिरहेका नागरिकहरूको पीडा अनुमान नै गर्न नसक्ने अवस्थामा पुगिसक्यो। ठाउँठाउँमा राहत वितरण पनि भइरहेका छन् तर ती वितरण कार्य पारदर्शी भने छैनन्। नागरिकहरूका गुनासा धेरै छन्। सरकारले कुनै पनि नेपालीले खान नपाएर मर्ने छैनन् भनेर बोलिरहँदा राहत वितरण कार्य अझै प्रभावकारी हुनेछ भन्ने कुरामा आशा राख्न सकिएला तर निश्चित भने हुनसक्ने अवस्था छैन। अनि श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीहरूलाई कसरी सम्बोधन गर्ने हो ? दैनिक जीवनमा जोखिम मोलेर रिपोर्टिङ गर्दै नागरिकलाई सुसूचित गर्ने कर्तव्य पत्रकारको हो भने सरकारको जिम्मा उनीहरुको सुरक्षा गर्ने हो।
भर्खरै मात्र चितवनमा पनि पत्रकारहरूको विभिन्न छाता संगठनहरूले समस्यामा परेका र राहतको आवश्यकता भएका सञ्चारकर्मीहरूलाई राहत उपलब्ध गराउने जानकारी गराएका छन्। जुन काम अत्यन्तै सरहानिय छ। राहत चाहिएमा हामी दिनेछौं भनेर घोषणा गर्दैमा सञ्चारकर्मीहरू आवश्यक नै भए पनि लिन चाहीँ सजिलै जान सक्लान् त ? मैले उठाउन खोजेको मुख्य विषयवस्तु यही हो। यसै पनि पत्रकारिता क्षेत्रलाई मगन्तेको संज्ञा दिन पनि पछि नपर्नेहरू यहि समाजमा भेटिन्छन्। कुनै अमुक संगठनप्रति आकर्षित गर्न हाेडबाजि गर्दै प्रचारबाजी शैलीमा कतै हामी आफैँ आफुलाई नै माग्ने देखाउन लागिरहेका त छैनौं ? सरकारसँग सञ्चारकर्मीका लागि सुरक्षा र आवश्यक सुविधा माग गर्ने कुरामा संगठनहरूको एउटै आवाज उठ्न जरुरी छ।
संगठनहरूले सहयोग गर्ने हो भने क्रियाशील पत्रकारको संख्या यकिन गरेर सहयोग प्राप्त गर्न योग्य संचारकर्मीको नाम संगठनले नै संकलन गरेर पत्रकारहरूको निवासमै लगेर बुझाउन सक्ने अवस्था बनाउन सके सायद आवस्यक भएकाले राहत पनि पाउने थिए अनि सञ्चारकर्मीहरूको आत्मसम्मान पनि रहने थियो। राहतको आवश्यकता भए सम्पर्क गरौं भन्नु भन्दा पनि राहतको आवश्यकता पर्न सक्ने हाम्रा साथीहरूको पहिचान गरेर सम्मानका साथ उनीहरूसमक्ष लगिदिने प्रयास गरौं । जुन प्रयासमा मेरो पनि व्यक्तिगत साथ र पुर्ण सहयोग रहने छ।


























