काठमाडौं, बैशाख ९ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२ पुगेको छ। उदयपुर जिल्लामा आज एकै दिन थप दुई महिलासहित ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ४२ पुगेको हो। उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित भुल्केमा यसअघि नै संक्रमण देखिएकाहरूसँगको संसर्गमा रहेकाहरूको परीक्षण गर्दा आज एकै दिन ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज देखिएका संक्रमित सबैलाई उपचारको लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। यसअघि नै संक्रमण पुष्टि भएकाहरूसँग सम्पर्कमा रहेका २६० जनाको नमुना परीक्षण गरिएको थियो। नेपालमा हालसम्ममा आठ हजार ७७३ वटा नमुना परीक्षण भएकाे छ।

Facebook Comments


























