चितवन, बैशाख ९ । कोभिड–१९ को त्रासका कारण चितवनका किसानले लगाएका तरकारी बिक्री हुन छाडेपछि किसानले बारीमै जोतेर नष्ट गर्न थालेका छन्। लकडाउन शुरु भएयता केही मात्रामा तरकारी बिक्री भए पनि चितवनमै सङ्क्रमित भेटिएपछि किसानको बारीबाट तरकारी उठ्न छाडेको कृषकको गुनासो छ। राप्ती नगरपालिकामा रहेको जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष धर्म कँडेलले कोरोनाको सङ्क्रमण देखिएपछि तरकारी लिनका लागि व्यवसायीहरु आउन छाडेको बताए।
उनका अनुसार सहकारीबाट तीनसय किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। तरकारीको बजार काठमाडौँ, बुटवल र पोखरा भए पनि तरकारी खरिद गर्न कुनै पनि व्यावसायी बारीमा नआउँदा लगाएको तरकारी पनि बारीमै सड्ने अवस्था आएको उनको भनाइ छ।
यस्तै पश्चिम चितवनका कृषकले लगाएको तरकारी पनि बारीबाट उठ्न सकेको छैन। केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी सङ्घका अध्यक्ष जनकराज पुरीले तरकारी बिक्री हुन छाडेपछि किसानले तरकारी भएको बारी नै जोताउन थालेको बताए। यस क्षेत्रमा चार सयभन्दा बढी किसानले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका छन्। सहकारीले मात्रै ६२ बिगाह क्षेत्रफलमा सामूहिक तरकारी खेती गरेको छ।
तरकारी उत्पादन भए पनि बजारको अभाव हुँदा र तरकारी खरिद गर्ने व्यवसायी नआउँदा समस्या भएको उनले बताए। ‘तरकारी उत्पादन हुने मुख्य समयमा उत्पादित तरकारी बिक्री नहुँदा चिन्ता बढेको छ,’ उनले भने, ‘कृषकले लागत मूल्यसमेत नराखी बिक्री गर्दा पनि तरकारी बिक्री हुन सकेको छैन।’ कोरोनाको कहरका कारण यो वर्ष तरकारी खेती गर्ने किसानको अवस्था दयनीय बन्दै गएको उनले बताए। ‘केही किसानले साइकलमै भए पनि बोकेर गाउँगाउँ पुर्याएका छन्, तर बिक्री हुन सकेको छैन,’ उनले थपे।
जिल्ला ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी सङ्घका अध्यक्ष हरि थापाका अनुसार उत्पादन भएका तरकारीको लागि बजार सञ्चालन नहुँदा बिक्री पनि रोकिएको हो। ‘अहिले तरकारीको उत्पादन बढ्नु र खपत कम हुनुले किसान समस्यामा परेका छन्,’ उनले भने, ‘तरकारी किनेर खानेले सुरक्षित साथ किनेको छ। जग्गा हुनेले बारीमा तरकारी उत्पादन गर्न थाल्यो। अनि कृषकको तरकारी बिक्री हुन छाड्यो।’ राज्यले तरकारी बजार र अन्य अत्यावश्यक वस्तुका बजारहरु सञ्चालन गरिदिए किसानलाई केही राहत हुने उनको भनाइ छ।
संस्थाका सचिव रामचन्द्र रेग्मीका अनुसार चितवनको तरकारी पोखरा गए पनि अहिले गण्डकी प्रदेशले पूर्णरूपमा रोक लगाएको छ। जसले गर्दा मुग्लिनबाट पोखरातर्फ तरकारी जान छाडेको उनले बताए। बिक्री नै नभएपछि किसानले बोडी, घिरौँला, भेँडे खुर्सानीलगायतका तरकारी जोत्न थालेका उनले बताए।
कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा सात हजार ५० हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती हुँदै आएको छ। अहिले तरकारी उत्पादनका लागि राम्रो समय भए पनि कोरोनाको त्रासले किसान समस्यामा परेको केन्द्रका प्रमुख राजन ढकालले बताए। जिल्लामा वार्षिक ९१ हजार मेट्रिक टन तरकारी उत्पादन हुँदै आएको छ। जिल्लामा काउली, बन्दा गोलभेँडा, गाजर, मूला, हरियो साग, काँक्रो, लहरे तरकारी लगायतका तरकारी लगाइँदै आएको छ। लकडाउनका कारण सबै घरमा बस्ने भएकाले आफ्नो बारी हुनेले आफैँ तरकारी उत्पादन गर्न थालेको उनले बताए। ‘अहिले तरकारीको बीउ लिन आउनेको सङ्ख्या पनि बढेको छ,’ उनले भने। – रासस


























