नवलपुर, बैशाख ९ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ को क्वारेन्टाइनमा रहेका ३ जना मंगलबार विहान फरार भएका छन्। सोमबार भारतबाट आएका १ जना र उनीसँगै घुलमिलमा रहेका उनका २ जना साथीसहित ३ जनालाई सोमबार साँझ वडा न १ मा रहेको क्वारेन्टाइनमा राखिएकोमा विहान भागेको कावासोती वडा न १ का वडाध्यक्ष नारायण पन्तले जानकारी दिए।
उनीहरुलाई कावासोती ३ मा रहेको प्रस्तावित कुमारी अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो। भारतबाट आएका युवकले लागुऔषध (गाँजा) सेवन गर्ने गरेको र उनीसँगैका २ जना साथीले पनि गाँजा लिने गरेकाले ३ जनालाईनै उनीहरुकै र घर परिवारको सल्लाहामा क्वारेन्टाइन राखिएको वडा अध्यक्ष पन्तले बताए।
क्वारेन्टाइनबाट भागेका मध्ये कावासोती १ निवासी अर्जुन परियार ३ दिन अघि भारतको लुदियानाबाट घर आइपुगेका थिए। कावासोती नगरपालिका भित्र रहेको क्वारेन्टाइनहरुमा अहिले कावासोती नगरपालिकाको नगर प्रहरीले निगरानी गर्ने गरेका छन्। अध्यक्ष पन्तका अनुसार उनीहरुले नगरप्रहरीलाई समेत छलेर भागेका थिए।
फरार रहेका व्यक्तिको अहिले नगरप्रहरी, वडा प्रतिनिधि र प्रहरीले खोजी गरिराखेको कावासोती नगरपालिका उपप्रमुख तथा कोरना रोकथाम विपत व्यावस्थापन समिति कावासोती नगर संयोजक प्रेमशंकर मर्दनियाले जानकारी दिए।
कावासोती नगरपालिकामा हालसम्म २० जनालाई क्वारेन्टाइनमा राखिएकोमा ९ जना घर फर्किएका छन् भने ११ जना नगरपालिकाको क्वारेन्टाइनमा रहेको कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए। ११ मध्ये ३ जना फरार भएपछि अहिले कावासोतीमा ८ जना मात्रै क्वारेन्टाइनमा रहेका छन्।
अहिले कावासोती १ र १७ नम्बर वडाको क्वारेन्टाइनमा मात्र मानिसहरु रहेका छन्।


























