काठमाडौं, बैशाख ८ । चार जना निको भएर घर फर्किएसँगै नेपालमा कोरोना संक्रमितमा नेपालीभन्दा भारतीय धेरै भएका छन्। संक्रमण पुष्टि भएका ३१ बिरामीमध्ये कोरोनामुक्त हुने चारै जना नेपाली हुन्। अब बाँकी २७ संक्रमितमा नेपाली १२ छन् भने भारतीय १५ जना छन्।
ती भारतीयमध्ये उदयपुरमा संक्रमित देखिएका १२ जनाको विराटनगर र पर्सामा संक्रमित भेटिएका ३ जनाको वीरगन्जमा उपचार भइरहेको छ।
गत चैत ३० गते संक्रमण पुष्टि भएका ३ भारतीय वीरगन्ज महानगरपालिका-२ मा रहेको मस्जिदमा फेला परेका थिए। वीरगन्जका २ मस्जिदमा बसेका २२ भारतीयमध्ये ३ जनामा मात्रै कोरोना संक्रमण देखिएको हो। अरूलाई क्वारेन्टिनमा राखिएको छ। संक्रमिता तीन जना भने नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत छन्।
यस्तै उदयपुरको भुल्केस्थित मस्जिदमा बसेका १२ भारतीयमा यही वैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। सँगै रहेका एक नेपाली पनि संक्रमित भएका छन्। उनी पनि अहिले उनीहरूसँगै विराटनगरस्थित कोसी अस्पताल, कोभिड-१९ उपचार केन्द्रमा उपचाररत छन्। यही समूहमा डुलेका अन्य तीन नेपाली मोरङको टाँडीस्थित क्वारेन्टिनमा छन्।
आइतबार सेती अस्पतालबाट एक युवक डिस्चार्ज भएँगै नेपालमा कोरोना संक्रमित ३१ मध्ये कोरोनाबाट मुक्त हुनेको संख्या ४ पुगेको हो। सेती अस्पतालमा अन्य चार कोरोना संक्रमितको उपचार भइरहेको छ।

























