रौतहट, बैशाख ८ । रौतहटको कटहरियामा गएराति एक युवकको हत्या भएको छ। कटहरिया नगरपालिका १ हनुमान टोलका २५ वर्षका सञ्जीव यादवको निर्घात कुटपिट गरी हत्या गरिएको हो।
कुटपिटबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आफ्नै घरमा रहेका सञ्जीवलाई उनकै टोलका राधे दासले गएराति १० बजे बोलाएर लगेका थिए। साथीसँग निस्किएका उनी केहीबेरपछि गम्भीर घाइते अवस्थामा फेला परेपछि तत्काल एम्बुलेन्समार्फत उपचारको लागी वीरगञ्ज लगिएको थियो।
टाउको छातीलगायत शरीरका विभिन्न अंगमा गम्भीर चोट लागेका यादवको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घटनामा संलग्न भएको आरोपमा राधे दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे अनुसन्धाान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए।


























