बुटवल, बैशाख ७ । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ७ स्थित एक मस्जिदबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
लक डाउन उल्लंघन गरी सामूहिक नमाज पढ्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको हो। कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लक डाउनलाई उल्लंघन गरेको, सामाजिक दुरी कायम नगरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।
पक्राउ परेका सवैलाई वडा कार्यालय तौलिहवाको नियन्त्रणमा राखिएको छ। सरकारको अनिवार्य लक डाउनको घोषणालाई उल्लंघन गरी जबरजस्ती सामूहिक नमाज पढ्न खोज्ने व्यक्तिहरुको समूहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसअघि प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जिल्लाका मुस्लिम अगुवा, मदरसा संचालक, तथा इस्लाम धर्म गुरुहरुसँग जिल्ला प्रशासन कार्यालमा सामूहिक वैठक वसी घर घरमै नमाज पढ्न आग्रह गरेका थिए।
यस्तै शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा बस्दै आएका एक पाकिस्तानी नागरिकलाई प्रहरीले क्वारेन्टिनमा राखेको छ। विशेष सूचनाको आधारमा प्रहरीले स्थानीय रहिम मुसलमानको घरमा चेक जाँच गर्दा पाकिस्तानीको मिरपुर खास निवासी ३६ वर्षीय शैयद नोमान वसारदलाई फेला पारेको थियो।


























