काठमाडौं, बैशाख, ७ । यति बेला कोरोनाको महामारीबाट बच्न देश लकडाउनको नीति अनुरुप सामाजिक दूरी कायम गरिरहेको छ। यसरी क्वारेन्टाइनमा घरभित्रै थुनिएर बसिरहेकाहरूमा सामाजिकीकरणको प्राण भर्न नेपाल ग्यालरी नामक सामाजिक संस्थाले भर्चुल “म्युजिक फर पिस” नामक कार्यक्रम सञ्चालन गर्ने भएको छ।
जसमा सामाजिक सञ्जाल फेसबुकमार्फत् कलाकारहरूले आफ्ना प्रस्तुति दिनुका साथै दर्शकसँग कुराकानी पनि गर्ने छन्। “म्युजिक फर पिस” भर्चुअल प्रस्तुतिको पहिलो दिन आइतबार १ बजे फेसबुक लाइभमार्फत् क्वारेन्टाइनमा दर्शकलाई मनोरञ्जन दिन आउँदै छिन् गायिका शृङ्खला जोशी।
गायिका जोशी हाल अस्ट्रेलियामा भएकीले कार्यक्रम १ बजे गरिए पनि दोस्रो दिनबाट भने हरेक दिन ४ बजे नेपाल ग्यालरीको अफिसियल फेसबुक पेज र ग्रुपबाट हेर्न सकिनेछ।
यो साता गायिका शृङ्खला जोशी, नेपाल आइडल सिजन २ विजेता रबी ओड, नेपाल आइडल प्रतियोगी ममता गुरुङ, गायक टंक तिमिल्सिना, चेतन बोहरा, सुदीप साजन आदि कलाकारहरूको प्रस्तुति रहनेछ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले लकडाउन घोषणा गरेपछि घरघरमै थन्किएका सर्जक र सिर्जना प्रेमीमाझ यसको प्रभावकारिता देखिने विश्वास आयोजक टिमले राखेको छ।
लकडाउनको बेला अधिकांशको समय व्यतीत गर्ने साधन सामाजिक सञ्जाल भएको छ। भौतिकभन्दा भर्चुअल संसार नै उनीहरूका लागि साथी बनेको छ। यसरी लामो समय लकडाउनमा बस्दा आलस्य र मानसिक तनाव नहोस् भन्ने हेतुले नेपाल ग्यालरीले त्यसलाई सिर्जनशील बनाउने प्रयास गरेको बताइएको छ।


























