– राजु सापकोटा
पहिले यो भिडियो हेर्नुहोस्।
दृश्य बैशाख ३ गते बुधबार दिउँसोकाे हाे। पूर्वपश्चिम राजमार्ग (पुरानो महेन्द्र राजमार्ग), कसैकसैले भन्ने गरेको लोकमार्ग पनि। पूर्वपश्चिम राजमार्गको ‘ग्राउण्ड जिरो रिपोर्टिङ’मा निस्किएँ म। दोलखादेखि हिँडेर सल्यान जान निस्केका रहेछन्। अब ७/८ दिनमा पुग्छौं भन्चन्।
मसँगै दीपक पौडेल सर र एकजना चालक पनि हुनुहुन्थ्यो।
यो रिपोर्टिङ्गमा हामीले अरू थुप्रै दृश्यहरू देख्यौं। हाम्रो जिम्मेवारी थपियो। घटनाक्रमले संयमता अपनाउन भन्यो, त्यसै गर्याैँ। संकटमै त हो सहयोगी बन्ने। सामाजिक उत्तरदायित्व निर्वाह गर्ने। सरकारले सजगता अपनाएको भन्छ। एक प्रदेशबाट अर्कोमा नजा भन्छ। तर, ‘हिँडेरै जा’ रे! मानौं कि मुलुक १५औं शताब्दीतिर छ। कि त जानै नदेऊ कि त कडाई गर। तर, यसरी नतड्पाउ। मानवयता भन्ने चिज देशमा छ कि छैन? यसरी यति लामो पैदल यात्रामा किन निस्किएका छन् जनता? के हो मूल उद्देश्य ? बुझ्नुपर्छ कि पर्दैन? यी प्रश्न त्यसै आएका होइनन्। किनकि हामीले सुन्यौं ती सानी बालिकाको नि:शब्द चित्कार।

सानी नानी:
हाम्रो नजरमा परेकी ती सानी नानी, उनको दोष के हो? उनको पीडा सुनिदिने कोही छ देशमा? ती सुन्निएका गोडा देखाउने बूढी आमाको दोष के हो? उत्तर एउटै छ, ‘भोको पेट।’ संरक्षकको अभावले उनलाई नियम मानिरहनबाट हच्कायो। अनि आँट दियो, सयौं किलोमिटर पैदलै हिँड्ने।
नुवाकोटको एक इँटा भट्टीमा काम गर्दै आएका एकै परिवारका सात जना, गोरखा हर्मीबाट पैदल हिँडेरै रोल्पाको होलेरी पुग्ने लक्ष्य छ। सात जना परिवारलाई काम गर्दै आएको इँटा भट्टी मालिकले जनही तीन/तीन हजार रुपैयाँ दिएपछि घर हिँडिएको हो। साथमा साढे दुई बर्षकी सानी नानी आमाको विमलाको पिठ्यूँमा पछ्याउराले बाँधिएकी छिन्। यात्रा कठीन त छ तर घर पुग्नुपर्ने वाध्यता पनि छ। धूलो माटो खाएर इँटा बनाए तर उनीहरूमा कुनै रोग छैन। यद्दपी जान्दै नजानेको रोगको डरले काम गर्ने ठाउँमा अलपत्र पर्नुभन्दा आफ्नो घर जानु नै बेश लाग्यो। उनीहरू यात्रामा निस्किए।

अर्को दृष्यः
काठमाडौंबाट २ दिन लगाएर नेपालगञ्ज हिडेका दुई पैदलयात्रु चितवन आइपुगेका छन्। काठमाडौंमा घर बनाउने काम गर्दै आएका उनीहरु लकडाउन सुरु भएपछि यतिका दिनसम्म आफ्नो साथमा रहेको खाना र पैसाले गुजारा चलाउँदै आए पनि फेरि लकडाउन थपेपछि हिँडेरै घर पुग्ने लक्ष्यसहित यात्रामा निस्किएका छन्। लकडाउनको अवस्थामा पैदल हिँडेर चितवन आइपुग्दा अनुहारमा मलिनता मात्रै थिएन। खुट्टामा ठूलाठूला ठेला थिए, चप्पल फाटेको थियो र जिउ पूरै थकित।

काठमाडौंमा रहँदा काम गर्ने ठेकेदारले फोनसमेत नउठाएपछि घर फर्कनु बाध्यकारी भयो। काठमाडौंमा मिस्त्रीको काम गर्ने नेपालगञ्जका अर्का मजदुर पनि त्यहीँ भेटिए। काठमाडौं बसे पनि काम नै रोकिएपछि भोकभोकै बस्नुभन्दा हिँडेरै घर पुग्ने अठोट लिएर हिँडेका छन्। ‘हिँड्नुको विकल्प नै नभएपछि के गर्नु र?’ उनी भन्दै थिए।
जे देखियोः
गोरखाको हर्मीमा सिंचाईमा पाइपलाइनको काम गर्दै आएका २ जना पनि हिँडेरै घर पुग्न भन्दै दाङका लागि निस्किए र त्यही दिन चितवन आइपुगे। आफूले काम गर्दै आएको ठेकेदारले ‘आफ्नै मर्जी गर’ भनेपछि उनीहरु हिँडेका हुन्। उनीहरुलाई विश्वमा फैलिएको कोरोना भाइरसबारे खासै जानकारी छैन। तर पनि घर पुगेपछि केही दिन परिवारबाट बस्नेछन्।

ती वृद्ध आमाको आँसुले भरिएको मलिन अनुहार। ती युवकका च्यातिएका चप्पल, सयौं किलोमिटर यात्रा गर्दाको थकान, सरकार र मालिकप्रतिको आक्रोश। यी सब जायज् कि नाजायज् ? दोष आखिर कस्को हो, थाहा छैन। तर, प्रश्न यक्ष छ। आशा गरौं जवाफ भेटिएला। अझै सोध्छु, ‘सुनिदिने कोही छ हिम्मतवाला?’
दयालु सुरक्षाकर्मी:
सुनशान राजमार्गमा लावालस्कर लागेका मानिसहरु छन्। सरकारले सबैलाई बाहिर ननिस्कनु, निस्कन नदिनु भनेको छ। काम गर्ने ठाउँमा बास छैन, गाँस छैन। घर पुग्न पाए आफ्ना मान्छेको अनुहार हेरेर पनि दिन कटाउन सकिन्थ्यो भन्ने आश छ। बाटोमा सुरक्षाकर्मीहरू छन्। सहयोग छैन। सुरक्षाकर्मीसँग उनीहरूलाई सहयोग गर्ने अधिकार पनि नहुँदो हो। तर अवश्था हेरेर कतैकतै ट्रकमा हालेर पठाएको पनि देखियो।

आखिर दयालु को छ? जवाफदेही को रहेछ?
समस्या : शासकको आँखा कि कानमा?
के हाम्रो देशका शासकहरुको आँखा र कानमा समस्या भएकै हो त? चेत छ र सबै अवयव सक्षम छन् भने यो मौनता किन? यो सास्ती किन? नदेखेको भए यहाँ केही तस्बिर छन्। जूम गरीगरी, पज गरीगरी हेर्न सादर अनुरोध छ। हिँडेर जान चाहिँ छुट हो भने कृपया भनिदिनुपर्यो। महकालीपारीको आवाज, चित्कार त सुनेनौ सुनेनौ। कमसेकम आन्तरिक आवाज, देशभित्रको आवाज त सुन। कानले सुन्दैन, आँखाले भर पाएन भने भरपर्दो विशेषज्ञको सल्लाह र उपचार माग।
अभिभावक को हो?
चितवनका सिडिओ भन्छन्, ‘जहाँबाट आए उतै फर्काइदिने हो।’
संयोगवस कार्यालय फर्किने क्रममा हामीले चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई र प्रहरी प्रमुख नान्तीराज गुरुङलाई नायणगढको पुल्चोकमै भेट्यौं। मैले प्रश्न राखें – पैदल गइरहेका मजदुरको पीडा कल्ले बुझ्ने हो, तपाइहरुले के गर्नुहुन्छ अब? सिडिओ सा’बको जवाफ आयो, ‘जताबाट आएका हुन् उतै फर्काइदिने हो।’ भट्टराईले कडा शब्दमा भने जिम्मा मालिकले लिनुपर्छ, राज्यले लिँदैन। यो बिषयमा बिहीबारदेखि नै कडाई हुन्छ, जताबाट आए उतै फर्काइदिने हो। नजिकै रहेका चितवनका एसपी नान्तीरज गुरुङलाइ पनि सोधें, के हो कुरो? ‘कुरो प्रष्ट छ, अब त्यसै गर्ने हो,’ उत्तर आयो।

अन्त्यमा,
यति देखाउनुको अर्थ यो होइन कि सबै खुल्ला गर, लकडाउन चाहिँदैन। भ्रम नपरोस्। तर ती पैदलै सकिनसकि, जोखिम मोलेर, तातो घाममा, कहिले उज्यालोमा त कहिले अँध्यारो सडक झेल्ने पनि हाम्रै नागरिक हुन्। कोही त बोल, अरु देशलाई आफ्ना नागरिक लैजान जहाज भाडामा दिएका अनुभवी शासकहरु नै छन् कुर्चीमा। उनीहरुलाई आइडिया छैन? आफ्नाको पीडामा बोल्दैनन् त। देखे पनि नदेखेझैँ गर्छन्।
गर्ने प्रशासनले हो, राज्यले हो। हामीले देखाउने हो र देखाइरहन्छौं। यो क्रम अविच्छिन्न रहनेछ। संकटमा परेकाको आँसु देखाउनु मेरो कर्म हो। सबै जस्ताको त्यस्तै। स्पष्ट।
hamroraju@gmail.com
(लेखक चितवनस्थित कालिका एफएमका समाचार प्रमुख एवम् नेपाल पत्रकार महासंघ, चितवनको कार्य समिती सदस्य हुन्।)


























