चितवन, बैशाख ५ । चितवन जिल्ला अदालतले थुनामा पठाउनुपर्ने कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई कोरोना परीक्षण गरी संक्रमित नभए मात्रै कारागार चलान गर्न आदेश दिएको छ।
चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलाशले छिमेकीको हत्या अभियोगमा चितवनकै हरिकृष्ण पाध्यालाई थुनामा पठाउने आदेश जारी गरेको हो।
आदेशमा पौडेलमाथिको थप छानविनका लागि पूर्पक्षका लागि थुनामा पठाउनुअघि कोरोना संक्रमण भए नभएको यकिन गरेर मात्र कारागार पठाउन भनिएको छ।
अदालतले चैत ६ गते नै पक्राउ परेका पौडेललाई हिरासतमा रहँदा सामाजिक दूरी कायम राखिएको थियो वा थिएन ? भन्ने प्रश्न समेत उठाएको छ।
न्यायाधीश रावलको इजलाशले हत्या अभियोग लागेका पौडेलको आरडीटी वा पीसीआर जुन माध्यमबाट भएपनि परीक्षण गर्न र कोरोनाको लक्षण देखिएको अबस्थामा चिकित्सकको परामर्शमा भरतपुर कोरोना विशेष अस्पतालमा उपचार गर्न समेत भनिएको छ।
अभियुक्त पौडेलले गत फागुन ३० गते पारिवारिक विवादका क्रममा छिमेकी भुवानी प्रसाद पाण्डेलाई कुटपिट गरेको र उनको उपचारका क्रममा चैत ६ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो।


























