चितवन, बैशाख ५ । इच्छाकामना गाउँपालिकाले पैदलयात्रीलाई गन्तव्यसम्म पठाउन थालेको छ।
बाहिरी जिल्लाबाट आफ्नो जिल्लासम्म हिँडेरै आएकालाई बिहीबार र शुक्रबार गन्तव्यतर्फ पठाएको हो। लकडाउनका कारण समस्यामा परेपछि पैदलै घर हिँडेकालाई मालवहाक ट्रकमा चढाएर गन्तव्यतर्फ पठाएको गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन्।

सामान बोकेर काठमाडौँ गएर फकिएको ट्रकमा गन्तव्यतर्फ पठाइएको उनको भनाइ छ। समूहसमूहमा आएका उनीहरुलाई जुन ठाउँ जाने ट्रक हो त्यसैमा चढाइर पठाइएको उनले बताइन्।
समस्यामा परेकालाई सहयोग गर्ने भावनासहित गन्तव्यतर्फ पठाइएको उनले बताइन्। उनका अनुसार शुक्रबार पनि ३०० भन्दा बढीलाई घर पठाइएको छ। विशेष गरी बाँके, बर्दिया, कैलालीलगायत पश्चिम नेपालका मानिसहरु पैदलै हिँड्ने गरेका छन्।
अन्य तराईका जिल्लाबाट रोजगारको लागि बाहिरी जिल्ला निस्केकाहरु पनि हिँडेरै गन्तव्यतर्फको यात्रामा छन्।


























