बेइजिङ, बैशाख ५ । चीनमा नोभेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ सय पुगेको छ। केही सातादेखि चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबारसम्म तीन हजार ३०० नै थियो।
तर, शुक्रबार एक हजार २९० कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको संख्या थपिएको छ। कोरोना भाइरसको उद्गमस्थल वुहानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० प्रतिशत अर्थात् एक हजार २९० थपिएका हुन्। पछिल्लो समय अस्पताभन्दा बाहिर मृत्यु भएकाहरुको तथ्यांक थप गरिएको हो।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या धेरै हुनसक्ने तर, चीनले उक्त तथ्यांक लुकाएको आरोप लगाएका थिए। वुहानका अधिकारीहरुले कुनै पनि कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको तथ्यांक नलुकाएको दाबी गरेका थिए।
वुहानका एक करोड १० लाख नागरिकले ७६ दिन लकडाउन बिताएका थिए। वुहानमा ८ अप्रिलमा लकडाउन खुला गरिएको हो। चीनमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ हजार ६९२ पुगेको छ। केही सातादेखि चीनमा विदेशबाट आएका नागरिकमा कोरोना संक्रमण देखिए पनि बिहीबार भने स्थानीय संक्रमितको संख्यामा वृद्धि भएको थियो। बीबीसी


























