काठमाडौं, वैशाख ४ । कोरोना महामारीले थप आक्रान्त बनाउँदै लगेपछि सशस्त्र प्रहरीले सीमानाकामा ८ हजार सशस्त्र प्रहरी तैनाथ गरेको छ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को निर्देशनपछि थप ८ हजार ३ सय ८३ जना सुरक्षाकर्मीलाई सीमा क्षेत्रमा तैनाथ गरिएको हो।
गृहमन्त्री मन्त्रालयका स्रोतका अनुसार यसअघि १२० बिओपीमा करिब ५ हजार जनशक्ति परिचालित थिए। सशस्त्रले नम्बर १ बाहिनी मुख्यालय सुनसरीबाट १५ सय ४९, नम्बर २ बाहिनी छिन्नमस्ता बाहिनी महोत्तरीबाट ३ हजार २ सय ६२, नम्बर ३ गढीमाई बाहिनी मकवानपुरबाट १९ जना, नम्बर ४ मुक्तिनाथ बाहिनी कास्कीबाट १८ जना, नम्बर ५ विन्ध्यावासिनी रुपन्देहीबाट २४ सय २० र नम्बर ७ वैधानाथ बाहिनी कैलालीबाट ११ सय १५ जना खटाएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
गृहमन्त्री थापाले पहाड र हिमालका साथै उच्च पदस्थहरुको सुरक्षार्थ खटिएकाहरुलाई समेत सीमा क्षेत्रमा परिचालन गर्न निर्देशन दिएका थिए। सीमाक्षेत्रमा यसअघि ८७ बिओपी मात्रै रहेकोमा यसलाई बढाएर १२० पुर्याइएको छ।


























