काठमाडौं, बैशाख ३ । नेपालमा पेट्रोलियम पदार्थको आयात घट्दै गएको छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवस्था हेर्दा डिजल र एलपीजी ग्यासको आयातमा कमी आएको छ।
पेट्रोलको आयात भने केही बढेको छ। तर समग्रमा भने पेट्रोलियम पदार्थको आयात आठ अर्ब पाँच करोड रुपैयाँले घटेको छ। चैतदेखि लकडाउन भएका कारण यसको आयात झनै धेरै घट्ने अनुमान रहेको छ। डिजलको आयात झण्डै सात अर्ब रुपैयाँले घटेको छ। गएको आर्थिक वर्षको आठ महिनामा ७३ अर्ब ८३ करोड रुपैयाँको डिजल आयात भएकोमा यो आर्थिक वर्षको आठ महिनामा ६७ अर्ब तीन करोड रुपैयाँको मात्रै आयात भएको छ। यो ६ अर्ब ८० करोड रुपैयाँले कमी हो।
यस्तै खाना पकाउने एलपीजी ग्यासको आयात पनि घटेको छ। गएको आर्थिक वर्षको पहिलो आठ महिनामा २३ अर्ब ९३ करोड रुपैयाँको ग्यास आएकोमा यो अर्थिक वर्षको आठ महिनामा २१ अर्ब ६४ करोड रुपैयाँको मात्रै आयात भएको छ। यो दुई अर्ब २९ करोड रुपैयाँले कमी हो। तर पेट्रोलको आयात भने पोहोरेको तुलनामा एक अर्ब चार करोड रुपैयाँले बढेको छ।
पोहोर २२ अर्ब ९४ करोड रुपैयाँको पेट्रोल आएकोमा यो आर्थिक वर्षको पछिल्लो आठ महिनामा २४ अर्ब १८ करोडको आयात भएको छ। समग्रमा हेर्दा पोहोरको तुलनामा यो आर्थिक वर्षको पहिलो आठ महिनामा पेट्रोलियम पदार्थको आयातमा आठ अर्ब पाँच करोड रुपैयाँले कमी आएको छ।


























