काठेखोला, बैशाख २ । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा सोमबार राति हावाहुरीसँगै परेको चट्याङले लागेर तीन वर्षीया नाबालकसहित तीन जना घाइते भएका छन्। रेशको कुँवरथरका ८८ वर्षीया लालबहादुर कुँवर, २४ वर्षीया पवित्रा कुँवर र उहाँका तीन वर्षीया छोरा घाइते भएका हुन्।
घाइतेको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ। चट्याङका कारण पवित्राको घरको ढोका फुटेको छ। हावाहुरीले घर गोठको छाना उडाएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए। लालबहादुर र पवित्रा ससुरा बुहारी नाता पर्ने हुन्। उनीहरु दुवैजना बस्दै आएका घरमा क्षति भएकाले पुनः निर्माणको काम थालिएको लमिछानेले बताए। चट्याङका कारण गोठमा बाँधिराखेका पशु चौपायसमेत घाइते रहेको लामिछानेले बताए। रासस
Facebook Comments


























