राजबिराज, बैशाख १ । लकडाउन उल्लंघनको विषयमा प्रहरीसँगको विवादका क्रममा बोहोस भएर ढलेकी एक बृद्धाको उपचारका क्रममा मृत्यु भएको छ।
सप्तरीको खड्ग नगरपालिका–६ बीरपुरमा लकडाउन उल्लंघन गरेर बाहिर निस्किएका युवामाथि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले स्थानीय युवाहरुलाई घर भित्र जान अनुरोध गरेपनि युवाहरुले प्रतिवाद गरेपछि लाठी प्रहार गरेको थियो।
त्यसक्रममा स्थानीय ६५ वर्षीया जयनव खातुन पनि प्रतिवादका लागि सडकमा आएकी थिइन्। स्थानीयका अनुसार प्रहरीसँग बादविवादमै उत्रिएकी खातुन बेहोस भएर सडकमै ढलेकी थिइन्।
बेहोस भएर ढलेकी उनलाई प्रहरीले गाडीमा राखेर उपचारका लागि स्थानीय अस्पतालमा लगिएकोमा त्यहाँबाट थप उपचारका लागि गजेन्द्रनारायाण सिंह सथरमाथा अञ्चल अस्पताल पुर्याइएको थियो। अस्पतालका चिकित्सकले भने उनको मृत्यु भइसकेको घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारती मृतक खातुन पहिलेदेखि नै मुटुको रोगी रहेकी बताउँछन्। स्थानीयले भने प्रहरीले कुटेका कारण खातुन बेहोस भएर ढलेको र सोही कारण उनको मृत्यु भएको बताएका छन्।


























