चितवन चैत्र ३० । नारायणगढमा रहेको साल्ट्र ट्रेडिङ् कर्पोरेसन लिमिटेडले लकडाउनपछिको समयमा करिब सवा एक करोड रुपैयाँ बराबरको कारोबार गरेको छ। कोरोना भाइरस नियन्त्रणको लागि चैत ११ गतेदेखि देश नै लकडाउन भएपछि कर्पोरेशनले सेवाग्राही समस्यामा नपरुन् भनेर कार्यालय परिसरमै सुपथ मूल्यको पसल सञ्चालन गरेको थियो। चैत ११ देखि ३० गतेसम्ममा कुल एक करोड २२ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको नारायणगढ शाखा प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए।
हरेक वर्ष दसैँ तिहारको समयमा सुपथ मूल्यको पसल सञ्चालन गर्दै आएको कर्पोरेशनले वर्तमान परिस्थितिमा खाद्यवस्तुको अभाव हुन नदिन लकडाउनको समयभरको लागि सुपथ मूल्यको पसल सञ्चालन गरेको उनले बताए। ‘बजारमा खाद्य अभाव र कालोबजारी हुन नदिन हामीले नेपाल सरकारले तोकेको मापदण्डअनुसार सुपथ मूल्यको पसल सञ्चालन गरेका हौँ,’ उनले भने।
उनका अनुसार गएको २० दिनमा ३ लाख १७ हजार १९४ केजी आयोनुनबाट ५८ लाख ७२ हजार ८१५ रुपैयाँ, ४३ हजार ४६८ केजी चिनीबाट ३१ लाख ७३ हजार १६४ रुपैयाँ, २०२ केजी पिठोबाट ११ हजार ६१५ रुपैयाँ, २० हजार ९ सय ५ केजी चामलबाट ११ लाख ७६ हजार २५ रुपैयाँ, १ हजार ८५ केजी चिउराबाट ६१ हजार २० रुपैयाँ, १७ प्याकेट मसलाबाट दुई हजार दुईसय ५५ रुपैयाँ र ३३८ प्याकेट मस्यौराबाट २६ हजार ९१ रुपैयाँ कारोबार गरेको उनले बताए।
यस्तै २१० लिटर खाने तेलबाट ३६ हजार १७० रुपैयाँ, ३४ प्याकेट चियापत्तिबाट ८ हजार ३६० रुपैयाँ, २९० केजी दाल तथा गेडागुडीबाट ३५ हजार ९५ रुपैयाँ र एक हजार पाँचसय ८६ बोरा रसायनिक मलबाट १८ लाख ८९ हजार ३९० रुपैयाँ कारोबार भएको कार्यालय प्रमुख दाहालले जानकारी दिए। लकडाउनको समयमा पनि साल्ट ट्रेडिङ कर्पोरेशनले सेवाग्राहीको लागि सुपथ मूल्यमा पसल सञ्चालन गरेर सुविधा दिएको उनले बताए। यसअघि पनि कठिन परिस्थितिमा नुन चिनीलगायतका दैनिक उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको थियो। हाल नारायणगढ शाखामा पर्याप्त मात्रामा खाद्यवस्तु रहेकोले उपभोक्ताले खाद्य अभाव हुने चिन्ता लिनु नपर्ने उनले बताए।


























