पेकिङ, चैत्र ३० । के चीनमा कोरोना भाइरस पुनः क्रियाशील हुन थालेको हो ? यो प्रश्न पुनः उब्जिएको छ किनभने बितेको २४ घण्टामा चीनमा कोरोना भाइरसबाट संक्रमित ९९ जना मानिस फेला परेका छन्। पछिल्लो हप्ता भेटिएको यो सबैभन्दा बढी संख्या हो। योसँगै चीनमा कोरोना संक्रमितको संख्या ८२ हजार ५२ जना पुगेको छ। शनिबार ६३ यस्ता घटना भेटिए जहाँ कुनै लक्षण बिना नै कोरोना संक्रमण भेटियो।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबारसम्म देशमा १२८० मानिसमा संक्रमण देखियो जो सबै विदेशमा संक्रमण भएर चीन फर्किएका व्यक्ति हुन्। यसमध्ये ४८१ जनालाई कोरोना मुक्त भएपछि अस्पतालले घर जान दियो र ७९९ को अहिले पनि उपचार चलिरहेको छ। उपचाररत मध्ये ३६ को स्थिति गम्भीर रहेको छ।
आयोगका अनुसार शनिबार चिनियाँ भूभागबाट बाहिर आएका ९९ संक्रमितमा ९७ जना विदेशबाट फर्किएका नागरिक हुन्। शनिबार पनि यस्ता ६३ संक्रमणको केस आएको थियो जसमा कुनै पनि लक्षण भेटिएको थिएन। यसमध्ये पनि १२ जना चाहिँ विदेशबाट संक्रमित भएर चीन फर्किएका हुन्। एनएचसीका अनुसार विदेशमा संक्रमित भएर ३ सय ३२ मानिस समेत अहिले १ हजार ८६ जना चिकित्सकीय निगरानीमा छन्।
कोरोनाको केन्द्र मानिएको हुबेई प्रान्त र यसको राजधानी वुहानमा कोरोनामाथि नियन्त्रण लिइसकिएको अवस्था पुनः यो फैलन्छ कि भन्ने चिन्ता व्याप्त हुन थालेको छ। चीनले लकडाउन खोलिसकेको छ र मानिसहरु नियमित काममा फर्कन थालेका छन्।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार देशका केही भागमा कोरोना संक्रमण पुनः देखिन थालेपछि आयोगका प्रवक्ता मी फेंगले शनिबार नागरिकलाई सचेत हुन र सावधानी अपनाउन भनेका छन्। उनले भीडमा नजान र पूरै सतर्कता अपनाउन भनेका छन्।
कोरोना संक्रमित देशबाट आफ्ना नागरिकहरुलाई उद्धार गरेर ल्याउनेक्रममा चीनमा कोरोना संक्रमितको संख्या बढेको हो। विदेशबाट ल्याइएका नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइनमा भने राखिएको छ।


























